ध्यान भन्ने के हो, यहीं आएर अनुभव गरें,
मनका सबै प्रश्नहरू भित्रै गएर भेटें।
शान्तिको त्यो सागरमा डुबुल्की मारें,
आफ्नै आत्मासँग म चुपचाप कुरा गरें।
योगमा शरीर, मन र आत्मा जोड्न कोसिस गरें,साससँगै जीवनका अर्थहरू खोज्न थालें
थकाइ र तनाव बिस्तारै हराएर गए
भित्रको उज्यालोले आफ्नै बाटो देखाए
अब म नयाँ यात्रामा अघि बढ्दै छु
हरेक पल आफैंलाई चिन्ने प्रयासमा छु
शान्ति, प्रेम र सन्तुलन बोकेर,
जीवनलाई सुन्दर गीत बनाउँदैछु।
बिहान सबेरै उठ्ने बानी बसालें,
सूर्यसँगै नयाँ आशा हृदयमा हालें।
प्रत्येक दिनलाई अवसर मानेर,
आफ्नो लक्ष्यतिर पाइला चालें।
अनुशासनमा बाँधिएर अघि बढें,
समूहमा रमाउँदै जीवन सजाएँ।
साथीहरूको मायाले हौसला दियो,
हाँसो र खुशीले दिनहरू भरियो।
अब म नयाँ यात्रामा अघि बढ्दैछु,
हरेक पल आफैंलाई चिन्दैछु।
शान्ति, प्रेम र सन्तुलन बोकेर,
जीवनलाई सुन्दर गीत बनाउँदैछु।
कहिले थाकें, कहिले अलमलमा परें,
तर ध्यानले मलाई फेरि सम्हाल्यो।
अन्धकारभित्र पनि उज्यालो देखें,
आशाले फेरि मुटुमा घर बनायो।
अब म आफूभित्रै संसार पाउँछु,
सानो कुरामा पनि आफैलाई खुशी बनाउँछु।
योग र ध्यानको यो अमूल्य बाटोले,
जीवनलाई साँचो अर्थ दिन्छु।






