नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको १७ औं अभिव्यक्ति शृङ्खलामा साहित्यकार डा.चिम्खोले काइँला

SHARE:

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७ औं अभिव्यक्ति शृङ्खलाका लागि साहित्यकार डा.दुत बहादुर पुन (चिम्खोले काइँला)लाई मञ्च प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि बेलायतमा साहित्य, पत्रकारिता साथै सामाजिक कार्यमा क्रियाशील रहेका पुनलाई मञ्च प्रदान गर्ने निर्णय गरिएको हो ।

यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी २७ जुन २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गर्न लागेको संस्थाले जनाएको छ । अभिव्याक्ति शृङ्खला कार्यक्रममा चिम्खोलेका उत्कृष्ट रचनाहरू वाचन गर्नुका साथै स्रष्टालाई सम्मान गरिनेछ ।

सन् १९६१ मा म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७, चिम्भोला कान्छी गाउँमा पिता शेरबहादुर गर्बुजा पुन मगर र माता जनिमा गर्बुजा पुन मगरको कोखबाट दुत बहादुर पुनको जन्म भएको हो । स्थानीय ज्ञान प्रवेश प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका पुनले एस.एल.सी.उत्तीर्ण गरी केही समय शिक्षण सेवासमेत गरेका थिए । १९८२ मा ब्रिटिस आर्मीमा प्रवेश गरेका पुनले आर्मीमा म्युजिक प्लाटुनमा संगीतकर्मीको रूपमा कार्यरत रहँदा उनले ब्रिटिस आर्मीका लागि आवश्यक शिक्षासम्बन्धी महत्त्वपूर्ण तालिमहरू उच्च श्रेणीमा उत्तीर्ण गरे ।

शैक्षिक दक्षताका कारण उनले ६ गोर्खा राइफल्सको एजुकेसन सेन्टरमा शिक्षकका रूपमा कार्य गर्दै सिनियर तथा जुनियर नन–कमिसन अफिसरहरू र जवानहरूलाई अध्यापन गराउने अवसरसमेत प्राप्त गरेका थिए । उनको योग्यता र दक्षताले गर्दा ब्रिटिस आर्मीमा ड्रममेजर (वारन्ट अफिसर) को गरिमामय पदमा पुग्न सफल भए । २००२ मा ब्रिटिस आर्मीबाट अवकाशपछि उच्च अध्ययनसँगै साहित्य, पत्रकारिता र समाजसेवीको रूपमा परिचय बनाएका छन् ।

चिम्खोले काइँला उपनामले चिनिएका पुनद्वारा प्रकाशित कृतिहरु ‘सुनदन्ते’ सन् २००७ कवितासंग्रह, ‘लण्डनको कोशेली’ सन् २००९ आधुनिक गीति एल्बम, ‘युकेको जिन्दगी’ सन् २०११ कवितासंग्रह, ‘यूकेतिर जाउली’ सन् २०१३ दोहोरी गीति एल्बम, ‘मेजर पेन्सन खाउली’ २०१६ फिल्म निर्माण (निर्माता, पटकथा लेखन र गीतहरुको शब्द रचना आफैं), ‘वेस्ट अफ चिम्खोले काइँला’ डिभीडी २०१७, ‘अर्ली भाइ’ २०१७ कथासंग्रह, मगर संघ यूके इतिहासदेखि वर्तमानसम्म २०१९, आधा यात्रा (हस्त–नेत्र स्मृति ग्रन्थ सम्पादन) वि.सं.२०७७, गोलार्द्धलाई चक्कर मर्दा (नियात्रासंग्रह) वि.सं.२०७७, लोसोगोठदेखि बकिङ्गघम प्यालेससम्म (व्यक्तित्व) वि.सं. २०७७ र बाह्रौं कृतिः लन्डन घुमौला (गीतिसङ्ग्रह) ।

चिम्खोले काइँलाका सैन्य परिवेशमा लेखिएको ‘सुनदन्ते’ भित्रका कविताहरू निकै घतलाग्दो रहेका छन् । यसैगरी ‘यूकेतिर जाउली, मेजर पेन्सन खाउली’जस्ता गीतहरूले मिलियन भ्युज प्राप्त गरेका छन् । साहित्यकार चिम्खोले काइँलाले विभिन्न विधामा कलम चलाएको पाइन्छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्याक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरी स्रस्टाको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००७ सालमा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्याक्ति शृङ्खलाको सुरू गरिएको थियो । २००८ सालमा कवि तथा निबन्धकार दयाकृष्ण राई । २००९ सालमा कवि तथा कथाकार टंक वनेम । २०११ सालमा संगीतज्ञ किशोर गुरूङ । २०१२ सालमा कवि तथा गजलकार अञ्जु अञ्जली । २०१३ सालमा गायक नोर्देन तेन्जीङ भूटीया । २०१४ सालमा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा । २०१५ सालमा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ सालमा कवि तथा गीतकार निर्मला परिवेश राई । २०१७ सालमा कवि डा.रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो ।

२०१८ सालमा साहित्यकार गणेश राई, २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्याक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । २०२१ सालमा भर्चुवलमार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो ।

यसैगरी २०२३ सालमा गायक धन किरण गुरूङ, २०२४ सालमा गायक तथा साहित्यकार नरेश नाति र २०२५ सालमा कवि देवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!