सार्वजनिक भयो डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक

SHARE:

पोखरा । समुदायमा आधारित संरक्षण अवधारणाका प्रणेता स्वर्गीय डा चन्द्रप्रसाद गुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ पोखरामा सार्वजनिक गरिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण सङ्ग्राहलयमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ र चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका डा गुरुङको यो पुस्तक उहाँको निधनपश्चात् फेला परेको पाण्डुलिपिमा आधारित छ । सोही दुर्घटनामा डा हर्क गुरुङ, मिङ्मा नोर्बु शेर्पालगायतका संरक्षणविद्ले ज्यान गुमाउनुभएको थियो ।

साहित्यकार तीर्थ गुरुङले अनुवाद गर्नुभएको यो पुस्तकलाई चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आर्थिक सहयोगमा प्रकाशित यस कृतिले नेपालको संरक्षण इतिहास र डा गुरुङको योगदानलाई जनमानसमा पुर्‍याउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्वसांसद मनबहादुर गुरुङले एक्याप आदिबासी जनजाति, सीमान्तकृत समुदाय, दलित, विपन्न र राज्यको पहुँचभन्दा टाढा रहेका नागरिकको बसोबास रहेको विशेष क्षेत्र रहेकाले यो क्षेत्र अति नै महत्वपूर्ण रहेको बताउनुभयो । करिब ४० वर्षअघि विकास र संरक्षणको अवधारणासहित सुरु भएको यो आयोजनाले प्रकृति, संस्कृति र कृषिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ थियो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले डा गुरुङले सुरु गर्नुभएको सामुदायिक संरक्षण अभियानका बारेमा चर्चा गर्नुभएको थियो । नेपालको पर्यटन र संरक्षण क्षेत्रमा डा चन्द्र गुरुङको योगदान अतुलनीय भए पनि त्यसको उचित पहिचान अझै हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । चन्द्र गुरुङ मेमोरियल फाउन्डेसन र अन्य सरोकारवाला निकायले मिलेर पर्यटन र संरक्षणको माध्यमबाट स्थानीयको जीवनस्तर सुधार्न थप सक्रिय हुनुपर्ने अवस्था छ ।

चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानका सचिव डा रोशन शेरचनले डा चन्द्र गुरुङले पुर्‍याएको योगदानलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको जानकारी दिनुभयो । यसले नेपालको संरक्षण इतिहासका लुकेका पक्षलाई उजागर गर्ने उहाँको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष शिखा गुरुङ खेतानले फाउण्डेसनले डा चन्द्र गुरुङको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!