काठमाडौँ । बेलायत निवासी पर्या-साहित्य अभियन्ता विजय हितानले एक लाख राशिको ‘पर्या-साहित्य पुरस्कार’ घोषणा गरेका छन् ।
नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष, लेखक समेत रहेका हितानले आमा प्रेमकुमारी हितानको स्मृतिमा ‘प्रेमकुमारी हितानः पर्या-साहित्य पुरस्कार’ स्थापना गरेको घोषणा गरेका हुन् । वातावरणीय साहित्यको विकास, विस्तार र उन्नयन गर्ने उद्देश्यले ११औँ वातावरण गोष्ठीको विशेष समारोहमा पुरस्कार स्थापनाको औपचारिक घोषणा गरिएको थियो ।
घोषणा अनुसार उक्त पुरस्कार पहिलोपटक २०८४ सालमा आयोजना हुने १२औँ वातावरण साहित्य गोष्ठीको अवसर पारेर प्रदान गरिनेछ । वातावरण संरक्षण तथा वातावरणीय साहित्य सिर्जना, अनुसन्धान, प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।
पुरस्कार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय बनाउन स्वतन्त्र विज्ञ समितिको गठन गरिने तथा सोही समितिको सिफारिसका आधारमा पुरस्कार विजेता चयन गरिने जनाइएको छ । विजय हितान नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुका साथै नेपाली साहित्यका सक्रिय सर्जक तथा सम्पादकका रूपमा परिचित छन् । उनका ‘बिछोड अघिको रात’ (२०६७), ‘थकित पृथ्वी’ (२०७०), ‘लाहुरेको रेलिमाई’ (२०८०), ‘ब्लु प्लानेट’ (२०७८), ‘मलाई आर्यघाट लगेर नजलाउनू’ (२०८२) आदि गरी झन्डै १ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका छन् ।
साहित्यिक सिर्जना र वातावरणीय चेतनाको समन्वय गर्दै आएको हितानले वातावरणीय साहित्यलाई संस्थागत रूपमा प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए । उनका अनुसार वातावरणीय साहित्यको विकास, विस्तार र उन्नयन गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न योगदान दिने स्रष्टा तथा अभियन्ताहरूलाई सम्मानित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो ।






