घलेभन्ज्याङ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले विद्यालय समयभित्र फेसबुक, टिकटक बन्द गर्न निर्देशन दिएको छ ।
वरिष्ठ विद्यालय निरीक्षक धर्मराज रिमालले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामाजिक सञ्जाल बन्दसहित सातबुँदे निर्देशन जारी गरेका हुन् ।
जारी निर्देशनअनुसार विद्यालयका शिक्षक तथा कर्मचारीहरू सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। उनीहरूले कक्षा सञ्चालनपूर्व शिक्षण योजना निर्माण, शैक्षिक सामग्री तयारी तथा सिकाइ प्रक्रियालाई प्रभावकारी, व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउन आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, प्रत्येक दिन दिउँसो ४ बजेदेखि ४:३० बजेसम्म शिक्षकहरूबीच सिकाइ उपलब्धि, विद्यार्थीको अवस्था तथा आगामी शिक्षण रणनीतिबारे छलफल र समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ।






