अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

SHARE:

काठमाडौँ- अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएल टाउट्सरको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक भएको छ। साराफ फाउन्डेसनको सहयोगमा प्रकाशित पुस्तक काठमाडौंको तारागाउँ आइतबार(जेठ २४ गते) नेक्स्टमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको थियो।
तामाङ समुदायको जीवन, संस्कृति, परम्परा तथा धार्मिक अभ्यासमाथि आधारित उक्त पुस्तक डा. टाउट्सरले सन् १९८६ देखि २००४ सम्म विभिन्न चरणमा गरेको स्थलगत अनुसन्धानका आधारमा तयार पारिएको हो।
पुस्तकको पहिलो भागमा दोलखा जिल्लाको च्यारसाबा गाउँको सामाजिक संरचना, वैवाहिक सम्बन्ध तथा विवाह र मृत्युसंस्कारजस्ता प्रमुख संस्कारहरूको अध्ययन प्रस्तुत गरिएको छ। दोस्रो भागमा सैलुङ, कालिञ्चोक र गोसाइँकुण्ड क्षेत्रमा आयोजना हुने सामूहिक धार्मिक पर्व तथा तिनसँग जोडिएका सांस्कृतिक अभ्यासहरू समेटिएका छन्।
पुस्तकमा दोलखाको च्यारसाबा गाउँसहित सैलुङ, कालिञ्चोक र गोसाइँकुण्ड क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व, सामाजिक संरचना, विवाह प्रणाली, संस्कार तथा दैनिक जीवनका विविध पक्षलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ। साथै, तामाङ समुदायको ऐतिहासिक पृष्ठभूमि, थर तथा कुल संरचना, मौखिक इतिहास, नेपाल–तिब्बत व्यापार मार्गको प्रभाव तथा सडक विस्तारसँगै आएको सामाजिक परिवर्तनलाई समेत पुस्तकले उजागर गरेको छ।
कार्यक्रममा समापन मन्तव्य दिँदै नमिता साराफले डा. टाउट्शरको नेपालसँगको सम्बन्ध बाल्यकालदेखि नै गहिरो रहेको बताइन्। उनका अनुसार टाउट्शरले बाल्यकालमा काठमाडौँमा अध्ययन गरेकी थिइन् र परिवारसँग ग्रामीण क्षेत्रमा गरेका पदयात्रामार्फत नेपालको विविध संस्कृति नजिकबाट बुझ्ने अवसर पाएकी थिइन्। त्यही अनुभवले उनलाई पछि तामाङ समुदायको सामाजिक संरचना र सांस्कृतिक जीवनमाथि केन्द्रित विद्यावारिधि अनुसन्धान गर्न प्रेरित गरेको उनले बताइन्।
तीव्र आधुनिकीकरण र सामाजिक परिवर्तनका बीच तामाङ समुदायका परम्परागत संस्कार, पर्व तथा जीवनशैलीलाई अभिलेखीकरण गर्दै सांस्कृतिक सम्पदा संरक्षणमा पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। मानवशास्त्र, हिमाली संस्कृति, धर्म, पर्यावरण तथा सामाजिक परिवर्तनका विषयमा रुचि राख्ने अनुसन्धानकर्ता, विद्यार्थी तथा पाठकका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास आयोजकको छ।
साराफ फाउन्डेसनका अनुसार ‘तामाङ पोर्ट्रेट्स’ फाउन्डेसनको सहयोगमा प्रकाशित १९औँ पुस्तक हो। अरुण साराफ र नमिता साराफद्वारा स्थापित फाउन्डेसनले हिमाली क्षेत्रको संस्कृति, परम्परा, वास्तुकला तथा मानवशास्त्रीय अध्ययनको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको छ। सराफ फाउन्डेसनले विभिन्न अनुसन्धान तथा प्रकाशनलाई सहयोग गर्नुका साथै ‘साराफ फाउन्डेसन लेक्चर सिरिज’ सञ्चालन गर्दै आएको छ। साथै, नेपालकै सबैभन्दा ठूलो वास्तुकला अभिलेख सङ्ग्रह मानिने ‘नेपाल आर्किटेक्चर आर्काइभ’ समेत स्थापना गरेको छ।
पुस्तकले तामाङ समुदायको सांस्कृतिक सम्पदालाई भावी पुस्तासम्म सुरक्षित राख्न मद्दत पुर्‍याउनुका साथै हिमाली समाजमा धर्म, प्रकृति र आधुनिकताबीचको सम्बन्धलाई बुझ्न महत्वपूर्ण दस्तावेजका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!