विजय हितान
जब म काठमान्डू हवाइजहाजबाट ओर्लन्छु, देश संघीयतामा गयो भनेर चिन्ता लाग्दैन । संविधान राम्रो बनेन भनेर चिन्ता लाग्दैन । प्रदेशको नाम जनताले भनेजस्तो भएन भनेर चिन्ता लाग्दैन । नेताले केही गरेनन् भनेर पनि चिन्ता लाग्दैन । मलाई जग्गा र सुनको भाउ र बैंकमा राखेको पैसाको ब्याजदर घटेछ भनेर चिन्ता लाग्दैन । परिवारका सदस्यहरुको डिमान्डअनुसारको कोसेली ल्याउन सकिन कि भनेर पनि चिन्ता लाग्दैन । यी सबैको बारेमा चिन्ता गर्ने त तपार्इँहरुजस्ता धेरै हुनुहुन्छ । सबैले गर्ने चिन्ताका विषयहरुमा म किन चिन्तित भइराख्न पर्यो र ! त्यसैले म धेरै कमैले चिन्ता गर्ने विषयमा चिन्तित छु ।
जहिल्यै पनि काठमान्डू ओर्लन्छु एउटै कुराले चिन्तित बन्छु । काठमान्डूको प्रदूषित वातावरणले । गत ६ नोभेम्बर २०१८ तारिखमा काठमाडौं बिमानस्थल ओर्लें । शौचालय प्रयोग गर्न पर्ने भयो । नाक छोप्दै भित्र पसें । मैले गरेको सबै दिसापिसाब आखिरमा वाग्मतीमा त बगेर जाने हो भनेर दुःख लाग्यो । हात धुन धारा खोलें । पहेँलोपहेँलो रङको पानी आयो । मेलम्ची आउँदैछ भनेर चित्त बुझाएँ । ट्याक्सी चढेर घरतिर लागें बाटोमा उड्दै गरेको धूलोधुवाँ पन्छाउँदै । वाग्मतीको पुल काट्दा नदिले बगाएर ल्याएको ढल र त्यहाँबाट उत्सर्जित गन्धले ह्वास्सै नाकलाई हान्यो । अघि शौचालय पसेको याद आयो । सडकपेटी छेउ भएर बग्ने ढल र थुपारिएका फोहोर मैलातिर अनायासै आँखा तेर्सिए । केही अधबैँसे केटाहरु नाङ्गै हातले प्लस्टिक, कार्डबोर्ड र सिसालाई छुट्टयाउँदै मिनी ट्रकमा लोड गर्दै थिए । कबाडीमा लगेर बेच्न हो कि ल्यान्डफिल साइटमा फाल्न हो । उनीहरु प्लास्टिक, मेटल बेच्ने खाते केटाहरु थिए कि नगरपालिकाका फोहर व्यवस्थापनका कर्मचारी थिए, छुट्टयाउन सकिनँ । त्यो दृश्यले पनि मन दुखित तुल्यायो । पछि सुनेँ, उपत्यकाको एक मात्रै फोहोर बिसर्जन स्थल ओखरपौवा ल्यान्डफिल साइटबाट बग्ने लिचेटले जलाशय, जलचर र गाउँलेलाई पारेको असर । त्यहाँबाट उत्सर्जित मिथेन ग्यासले वरिपरिको वायुमण्डलमा झनै कस्तो नकारात्मक प्रभाव पारेको होला भनेर अड्कल काटें । भूइँतिर लत्रिरहेका बिजुली र टेलिफोनका तार, थोत्रा होर्डिङबोर्ड, उद्रिसकेका भित्तेलेखन र पर्चाहरुजस्ता दृश्य प्रदूषणहरुप्रति मेरा आँखा फेरि परे । कानै खाने गरी चिच्याउने गाडीका हर्नस रातमा निस्कने गल्लीका कुकुरका निरन्तर हाउँहाउँ, विवाह, नेताका भाषण र पूजाजस्ता कार्यक्रमबाट निस्कने माइकका ध्वनी प्रदूषणप्रति पनि मेरा कान ठडिए ।
म काठमाडौं ओर्लेको एक दिन हुन पाएको हुँदैन मेरा शरीरका सबै ज्ञानेन्द्रीयहरु शिथिल हुन्छन् । अनि त म अति चिन्तित बन्छु यस्ता वातावरणीय प्रदूषणलाई कसरी रोकथाम गर्न सकिन्छ होला भनेर ।
अघिल्ला नेपाल भ्रमणहरुमा निस्कँदा पनि यस्तै अनुभवले चिन्तित तुल्याउँथ्यो । यसपटक पनि खुबै चिन्तित भएँ । तर, अहिले आएर मेरा चिन्ता अली पर सरेका छन् । कारण मेरा चिन्तालाई अलि बिसेक गराइ दिनसक्ने मान्छेहरुलाई भेटेर आएको छु । यति भएपछि अब काठमान्डू अनि समग्र नेपालको वातावरण संरक्षण, प्रवर्द्धन र सुधारमा केही टेवा पुर्याउन सक्छु भन्ने लागेको छ । बेलायतको एन्भायरोमेन्ट एजेन्सीमा बसेर कमाएको सीप र अनुभवलाई आफ्नो राष्ट्रको सेवामा अर्पिन सक्छु भन्ने ठानेर फर्केको छु । बेलायतको वातावरण व्यवस्थापनको मोडललाई सर्लक्कै नेपालमा लगेर लागू गराउन सकिन्छ कि र यस कार्यमा सबैको साथ पाइन्छ कि भन्ने आत्मविश्वास जगाएर म मेरो छुट्टि सिध्याएर कर्मभूमि फर्केको छु ।
यसै सिलसिलामा गत अक्टोबर महिनामा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतज्युसँग नेपाली राजदूतावास लन्डनमा भेटवार्ता भयो । आउनुस् नेपाल र भेट गरौं भनेर आश्वासन दिनुभयो । काठमान्डू ओर्लेको केही दिनपछि पर्यावरण रेडियोमा अन्तर्वार्ता मिलाइदिनु भयो साहित्यकार मित्र बम बानियाँले । रेडियोमा भेट भयो कार्यक्रम सञ्चालक नवराज संजाल र डाइरेक्टर ड. अस्तमान महर्जनसँग । एक घण्टा वातावरणकै विषयमा केन्द्रित रहेर मेरो
अन्तर्वार्ता भयो ।
त्यसपछि वातावरण कानुनविद् तथा वातावरण संरक्षणका अभियन्ता अधिवक्ता पदमबहादुर श्रेष्ठसँग भेट हुने सौभाग्य मिल्यो । नेपालमा वातावरण कानुन नै छैन होला भनेको त एक सय चार कानुनहरु रहेछन् । उहाँले वातावरणीय समस्याहरुमा उद्योग तथा सरकारलाई मुद्दा हालेर धेरै मुद्दा जितिसक्नु भएको रहेछ । अदालतले धेरै मुद्दालाई जिताइसकेको तर सरकारबाट कार्यान्वयन हुन नसकेका गुनासाहरु मलाई पोख्नु भयो । आवश्यक स्रोत र साधन नै छैनन् कसरी अदालतको फैसलालाई कार्यान्वयन होस् त ! वातावरण प्रबन्धनमा वैज्ञानिक ज्ञान, दक्ष सीप र अत्याधुनिक प्रविधिको आवश्यकता पर्छ । त्यो अवस्था अझै नेपालमा विकास न भइसकेकोले फैसला कार्यान्वयन हुन गाह्रो छ मैले भने । उहाँले मनन गरे ।
त्यसपछि पदमजीले वातावरण विभागका महानिर्देशक झलकराम अधिकारी, शाखा प्रमुख बुद्धिराज घिमिरे र अन्य दस वातावरण निरीक्षकहरुसँग मेरो भेटघाट कार्यक्रम जुराइदिनुभयो । नेपालको वातावरण कानुन, यसको कार्यान्वयन र वातावरण व्यवस्थापनका विषयवस्तुमा हाम्रो छलफल भयो । वातावरण निरीक्षकहरुसँग एक छुट्टै अन्तर्क्रिया गरें । बेलायतको मेरो वातावरण व्यवस्थापनको अनुभव सुनाएँ । उनीहरुको पनि मज्जाले सुनें । चार वर्षमात्रै भएको रहेछ वातावरण विभाग स्थापना गरिएको । विचरा कान्छै रहेछ । तर, वातावरणलाई जोगाउन हरप्रयासमा लागेको पाएँ यहाँ कर्मचारीहरु । जम्मा १६ जना रहेछन् नेपाल अधिराज्यभरिका लागि वातावरण निरीक्षक । यी निरीक्षकहरु सरकारी कर्मचारी छनौट विधि लोकसेवा उत्तीर्ण भएर यो विभागमा आउनुहुँदोरहेछ । प्रायः सबैको वातावरण विज्ञानमा मास्टर डिग्री हुँदोरहेछ तर त्यससम्बन्धी कुनै तालिम नहुँदोरहेछ । कामकै सिलसिलामा आफै सिक्दै जानुपर्दो रहेछ । वातावरण विभागले अनुसन्धान गरेर निकालेको निष्कर्ष वातावरण मन्त्रालयमा बुझाईँदोरहेछ । तर, तालमेलको कमजोरीले धेरै विषयहरु कार्यान्वयन हुन नसकेको गुनासो मलाई अवगत भयो । यो समस्या पनि काठमान्डू धुलाम्य हुनाका कारण र जिम्मेवार निकाय सडक विभागले खानेपानी र खानेपानीले सडक विभागलाई लगाएजस्तै हुन सक्ने मलाई लाग्यो ।
हो, कठमान्डूमा पानीको समस्या छ तर मेलम्ची आउँदै छ । लोडसेडिङको समस्या थियो, कुलमान घिसिङको कुशल व्यवस्थापनले समस्या हरण भएको छ । अब काठमान्डुको फोहर व्यवस्थापनका लागि एक अर्को कुलमान जन्मनु परेको छ । बाटोघाटो र यातायातको समस्या छ, तर जहाज र रेल आउँदैछ । द्रुतमार्ग, सुरुङ र पहाडी लोकमार्गहरु बन्दैछन् । राजनीतिक हक र अधिकारका समस्या थिए, ल्याइयो संघीयता । जसले ल्याउँदैछ आर्थिक समृद्धि पनि । तर, वातावरणीय अवस्था क्षय हुँदै गइरहेको पाएँ । तर, मेरो बसाइमा पाउन सकिनँ यस्तो कुनै परियोजना जसले वातावरणीय समस्यालाई सुल्झाओस् । आर्थिक विकास र वातावरण संरक्षणका कार्यलाई सँगसँगै लगिनपर्छ । अर्थात् दिगो विकास । नेपालमा त्यसो भएको देखिँदैन । आर्थिक विकासको नाममा सडक, भवन, बैंक तथा वित्तीय संस्थाहरु, हवाइजहाज ग्राउन्ड, टेलिकम्युनिकेसनका संरचनाहरु धमाधम बन्दैछन् । तर, ल्यान्डफिल साइट, ढल र ढल प्रशोधन केन्द्र, फोहरमैला व्यवस्थापनका संरचनाहरु बनेका छैनन् ।
केही हप्तापश्चात् पदमजीको अगुवाइमा नेपाल बार एशोसिएसनको वातावरण कानुन समितिको आयोजनामा एक अन्तत्र्रिmया राखियो । कार्यक्रममा प्रदेश ३ का वातावरणमन्त्री, पूर्व वन तथा वातावरण मन्त्री, काठमान्डू महानगरपालिका वातावरण विभाग प्रमुख, अन्य वातावरण कानुनविद् र वातावरणविज्ञ जस्ता व्यक्तिहरुसँग मेरो भेटवार्ता भयो । बिग्रँदो वातावरणसँग सबैजना सचेत, सुधारनुपर्छ भन्ने कुरामा सबैको चाँसो देखें । तर, यससम्बन्धी खासै कुनै ठोंस नीति तथा योजना निर्धारित नभइसकेको बुझ्दा मन खिन्न भएर आयो । तर, सबैको यो भन्दा अगाडिको जनयुद्ध र अस्थिर सरकारप्रति दोष र अहिलेको नेकपा नेतृत्वको स्थिर सरकारप्रति सबैको आशाभरोषा पलाएको पाउँदा खुसी लाग्यो ।
यसरी यी भेटघाट र अन्तत्र्रिmयाहरुमा अरुका विचराहरु सुनें । मेरा भनाइहरु पनि राखें । मैले भनेको पुग्ला नपुग्ला हेर्दै जाउँला । बेलायतको लागि नेपाली दूतावास, म आफँै काम गर्ने सरकारी विभाग एन्भाएरोमेन्ट एजेन्सी, बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग, एनआरएनए बेलायत इत्यादि संघसंस्थाहरुसँग सहकार्य गर्दै वातावरण प्रवद्र्धनमा चाहिने टेक्नोलोजी नेपाल भित्र्याउन सकिन्छ । जसरी शिक्षा, स्वास्थ्य, साहित्य र राजनैतिक क्षेत्रमा नेपाल र बेलायतबीच अनुभव साटासाट हुँदै आएको पाइन्छ त्यस्तै वातावरणको क्षेत्रमा पनि विज्ञ तथा कर्मचारीहरुको आदानप्रदान र प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउन सकिन्छ ।
हामीले वर्षको दुई÷तीन सय गोर्खाली सिपाही बेलायतलाई दिँदा दुई÷तीन जना वातावरणविज्ञ देउ न हामीलाई पनि भनेर बेलायती सरकारलाई गुहार्न सकिन्न र ! नेपालकी महिलामन्त्री आएर बेलायतको पार्लियामेन्टमा महिला हकअधिकार र हिंसाको बारेमा बोल्दा बेलायतको वातावरणमन्त्री नेपालको संसद्मा उभ्याएर वाग्मती प्रदूषण हुन नदिन ढल कसरी प्रशोधन गरिनुपर्छ भन्ने विषयमा प्रवचनको मेसो मिलाउन सकिन्न र ! अन्तर्राष्ट्रिय विकास विभागले ताप्लेजुंगको खोलामा झोलुङे पुल हालीदिँदा काठमान्डूमा उत्पादन हुने मैलालाई डढाएर बिजुली निकाल्ने प्रविधि जडान गरिदिन्छौ कि भन्ने कुराको माग राख्न सकिन्छ । मानवअधिकारको शंख फुक्दा वातावरण अधिकारका विषयमा पनि नेपाली जनतालाई चेतना दिलाइदिन्छौ कि भनेर सोधी हेर्न सकिन्छ । यी सबैकुरा सरकारी स्तरमा गरियो भने प्रभावकारी हुनसक्छ । यसैको लागि सर्वप्रथम नेपाली दूतावासलाई मेरा यी कुराहरु राख्न जाने योजना गरेको छु ।
मलाई यस्तै यस्तै विषयले चिन्तित तुल्याउँछ । तर, अन्य धेरै कुराले नेपाल भ्रमण रमाइलो पनि लाग्छ । न्यानो मौसम, मिजासिला मान्छे, स्वादिलो खाना, सुन्दर प्रकृति, स्वर्गझैं लाग्ने हिमशृंखला, स्वच्छ गाउँले परिवेश, समथर मधेस, छङछङ गर्दै बग्ने नदीनाला, मनै लोभ्याउने राष्ट्रिय निकुञ्ज र हिंस्रक तर लोपोन्मुख वन्यजन्तु मलाई औधी मन पर्ने विषय हुन् ।
अब आशा गर्छु केही दशकपछि नेपालको वातावरणीय समस्याहरुले मेरो मन यसरी कुँडिन्न होला ।
bryanhitan@hotmalif.com
(लेखक वातावरण विज्ञानमा स्नातकोत्तर गरेर बेलायतको वातावरण विभागमा कार्यरत छन्)






