आइतबार, १४ जुन २०२६ – लन्डन। पुन मगर समाज युकेको आयोजनामा हुन गइरहेको मौलिक तथा सांस्कृतिक पर्व भूमे पूजा २०२६ तथा १२औँ वार्षिक भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रमको तयारी पूरा भएको जानकारी समाजका महासचिव धनबहादुर पुर्जा पुन मगरले जुम बैठक मार्फत गराउनुभएको हो।
उक्त मौलिक तथा सांस्कृतिक पर्व भूमे पूजा २०२६ तथा १२औँ वार्षिक भेटघाट कार्यक्रममा बेलायतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पुन मगर समाज युकेले उपस्थितिका लागि हार्दिक निमन्त्रणासहित चुले निम्तो गरेको छ।
मगर समुदायको पहिचान र प्रकृतिसँग जोडिएको ऐतिहासिक भूमे पूजालाई यस वर्ष पनि प्रवासमा जीवन्त राख्ने उद्देश्यका साथ समाजले बृहत् सांस्कृतिक उत्सवको रूपमा मनाउन लागेको हो।
आयोजकका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणअन्तर्गत दिनको ठीक १२:०० बजेदेखि दिउँसो २:०० बजेसम्म परम्परागत धार्मिक विधिअनुसार भूमे पूजा गरिनेछ।
त्यसलगत्तै दोस्रो चरणमा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। सांस्कृतिक उत्सवलाई थप आकर्षक बनाउन नेपालबाट बेलायत आउनुभएका चर्चित कलाकारहरू ललिता पुन मगर, निरुता पुन मगर, गोविन्द पुन मगर र सरिष्मा राम्जाली पुन मगरका साथै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। यसका साथै बेलायतमा नेपाली मौलिक धुन छर्दै आएको प्रसिद्ध ‘धौलागिरि नौमती बाजा युके’ र पुर्ख्यौली नृत्यको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
आफ्नो कला, संस्कृति र भेषभूषाको संरक्षण गर्दै आपसी भाइचारा बढाउने यो ऐतिहासिक उत्सवमा सहभागी भई कार्यक्रमको शोभा बढाइदिनका लागि पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले सबैमा सादर अनुरोध गर्नुभएको छ।
पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरको अध्यक्षतामा बसेको तयारी बैठकको सञ्चालन महासचिव धनबहादुर पुर्जा पुन मगरले गर्नुभएको थियो। उक्त बैठकमा पुन मगर समाजका सल्लाहकारहरू र कार्यसमितिका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।






