लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले आगामी ८ अगस्ट २०२६ शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति मेला भव्य रूपमा आयोजना गर्ने भएको छ।
विविधताको उत्सव, सम्पदाको संरक्षण र एकताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ वोकिङस्थित किरात हाउस (Kirat House, Gambles Lane, Woking GU23 6HS) मा यो ऐतिहासिक मेला आयोजना हुन लागेको हो।
सन् २००७ मा स्थापना भई बेलायतमा आदिवासी जनजातिको पहिचान, एकता र गरिमाका लागि क्रियाशील नेफिन युकेको यस वर्षको मेलामा विशेष खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। मेलाका प्रमुख विशेषताहरूमा रोमाञ्चक भलिबल प्रतियोगिता, परम्परागत आर्चरी (धनुषबाण) प्रतियोगिता, विभिन्न जनजातिका मौलिक संस्कृति झल्काउने झाँकी प्रतियोगिताका साथै आमन्त्रित चर्चित कलाकारहरूद्वारा बेजोड साङ्गीतिक प्रस्तुतिहरू समावेश गरिएका छन्।
यस वर्षको मेलाका लागि व्यापारिक स्टल, विभिन्न व्यवसाय, सामुदायिक सङ्घ-संस्था तथा खाद्यान्न विक्रेताहरूका लागि स्टल बुकिङ आधिकारिक रूपमा खुला गरिएको आयोजकले जनाएको छ। मेलामा सीमित स्थान मात्र उपलब्ध भएकाले पहिले आउनेलाई प्राथमिकताको आधारमा स्टलहरू सुरक्षित गरिनेछ। इच्छुक व्यवसायी तथा संस्थाहरूले स्टल बुकिङ तथा थप जानकारीका लागि मोबाइल नम्बर ०७९१२८४७६१५ मा सिधै सम्पर्क गर्न सक्नेछन्।
नेपाली मौलिक खानाका स्टलहरू, परम्परागत सांस्कृतिक प्रदर्शनी र बृहत् सामुदायिक सञ्जालका लागि यो मेला एउटा उत्कृष्ट अवसर बन्ने विश्वास लिइएको छ। आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले संस्कृति, मनोरञ्जन, खेलकुद र आपसी एकताको यो विशेष उत्सवमा सपरिवार र मित्रजनसहित सहभागी भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण नेपाली समुदायमा हार्दिक निमन्त्रणा जारी गरेको छ।






