बेलायतमा आयोजना हुन गइरहेको प्रतिष्ठित ‘१७औँ वर्ल्ड लीडर्स समिट’ मा नेपाल र बेलायत दुवै देशमा सक्रिय सामाजिक अभियन्ता तथा ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेका अध्यक्ष लिला सेलिङ माबोलाई प्रतिष्ठित ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’ तथा महिला सशक्तीकरण नेतृत्व पुरस्कार २०२६ प्रदान गरिने घोषणा गरिएको छ। आगामी १७ जुलाई २०२६ का दिन बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा आयोजना हुने विशेष समारोहका बीच उनलाई यो सम्मान प्रदान गर्न लागिएको हो।
यो विशिष्ट अन्तर्राष्ट्रिय पुरस्कारले लिलाहाङमा सेलिङ माबोले महिला सशक्तीकरण, समानताको प्रवर्द्धन, नेतृत्व विकास तथा विभिन्न समुदाय र सीमापार सकारात्मक परिवर्तनका अवसरहरू सिर्जना गर्न पुर्याएको असाधारण योगदानको उच्च कदर गरेको छ। आफ्नो समर्पण, स्पष्ट दृष्टिकोण र निरन्तर वकालतका माध्यमबाट उनले नेतृत्व लिन चाहने, नवीनता खोज्ने र समाजमा अर्थपूर्ण प्रभाव पार्न चाहने महिलाहरूका लागि आफूलाई एउटा बलियो प्रेरणाको स्रोतका रूपमा स्थापित गर्न सफल भएकी छन्।
महिला सशक्तीकरण र उत्कृष्ट नेतृत्वका क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि प्राप्त यस सुयोग्य सम्मानप्रति बधाई ज्ञापन गर्दै समिट आयोजकले समाजलाई थप समावेशी, सशक्त र दिगो भविष्यतर्फ डोर्याउन विश्वभरबाट महत्त्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट नेतृत्वकर्ताहरूलाई यो मञ्चमा सँगै उत्सव मनाउन आमन्त्रण समेत गरेको छ। ‘महिला सशक्तीकरण, प्रेरणादायी नेतृत्व र दिगो प्रभाव’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आयोजना हुन लागेको यस सम्मेलनमा विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।






