केदार संकेत – बेलायत।
बेलायतमा बसोबास गर्ने रामेछाप जिल्लावासीहरूको बृहत् भेटघाट, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रामेछापेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो सत्र सचिव रोशन श्रेष्ठ र दोस्रो सत्र केदार सङ्केतले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका अध्यक्ष प्रताप लामाले राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आत्मीय परिचय तथा विचार आदान–प्रदान गर्नुका साथै जलपानको समेत मज्जा लिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका सांस्कृतिक प्रस्तुतिहरूले सबैको मन जितेको थियो। डा. सुरज श्रेष्ठले तीन वटा सुमधुर गीत प्रस्तुत गरी वातावरणलाई साङ्गीतिक बनाउनुभयो भने बिनिसा सुनुवारले दुई वटा गीतमा सबैलाई नचाउनुभयो।
सम्बोधनका क्रममा रामेछाप समाज बेलायतका संस्थापक तथा वरिष्ठ सल्लाहकार हरि थापाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहकार्यको आवश्यकता औँल्याउनुभयो। साथै, रामेछाप जिल्लामा आइपर्ने प्राकृतिक विपत्ति वा सङ्कटका समयमा बेलायतमा रहेका सम्पूर्ण रामेछापेलीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा जिल्लाको गौरव बढाउने गरी विभिन्न विधामा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएका तथा समाज र जिल्लाको विकासमा योगदान पुर्याउनुभएका दिलासा सुनुवार, इन्द्रना श्रेष्ठ र स्मृति श्रेष्ठलाई सम्मान गरियो। यसैगरी, लामो समय शिक्षा क्षेत्रमा योगदान दिनुभएका साँगुटारका पूर्व शिक्षक प्रेम थिङलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सामूहिक फोटो सेसन गरिएको थियो। अध्यक्ष प्रताप लामाले उपस्थित सम्पूर्ण महानुभावहरू, आयोजक टोली र सहयोगीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नुभयो। त्यसपछि सबै जना जलपान र नाचगानमा रमाएका थिए।
सहभागीहरूका अनुसार, यस भेटघाटले बेलायतमा बसोबास गर्ने रामेछापेलीहरूबिच आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमले जन्मभूमि र समाजप्रतिको अपनत्व एवं जिम्मेवारी बोध गराएको सबैको धारणा थियो। अत्यन्त सौहार्दपूर्ण वातावरणमा सञ्चालित उक्त कार्यक्रम बेलुकी आठ बजे सम्पन्न भएको थियो।






