लन्डन । बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले अल्डरसटमा गुर्खा भूतपूर्व सैनिकहरूमाथि भएको जातीय आक्रमणको कडा निन्दा गर्दै यसलाई “अत्यन्त लज्जास्पद” घटना बताएका छन्।
अल्डरशटका सांसद एलेक्स बेकरका अनुसार, युद्ध स्मारक नजिकै रहेका वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि आक्रमण गरिएको थियो र उनीहरूलाई “आफ्नो देश फर्क” भन्दै जातीय दुर्व्यवहार गरिएको थियो । संसदको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद बेकरले गोर्खा पेन्सनसम्बन्धी लामो समयदेखि समाधान हुन नसकेको समस्यालाई उठाउँदै सरकारसँग यसको समाधान गर्न आग्रह गरिन्।
जवाफमा प्रधानमन्त्री स्टार्मरले यस विषयमा सम्बन्धित पक्षहरूसँगको छलफल जारी रहेको बताए। गोर्खा सैनिकहरूले दुई सय वर्षभन्दा बढी समयदेखि बेलायती सेनामा सेवा गर्दै आएका छन्। सन् २००९ मा उनीहरूलाई बेलायतमा स्थायी रूपमा बसोबास गर्ने अधिकार प्रदान गरिएको थियो।
संसदमा बोल्दै सांसद बेकरले भनिन्:
“देशको सेवा गरिरहेका र गरिसकेका सैनिकहरूप्रति सम्मान व्यक्त गरिरहेको यस हप्तामा, हाम्रो युद्ध स्मारक रहेको पार्कमा वृद्ध गोर्खा भूतपूर्व सैनिकहरूमाथि आक्रमण गरियो र उनीहरूलाई ‘आफ्नो देश फर्क’ भनियो। के प्रधानमन्त्री र यो सदनले यस घृणित आक्रमणको एक स्वरमा निन्दा गर्दै हाम्रा गोर्खाहरूको वीरता र योगदानको सम्मान गर्नुहुन्छ ?
साथै, गोर्खाहरूले हाम्रो देशका लागि अतुलनीय योगदान दिएका छन्। त्यसैले, हामीले लामो समयदेखि उठाउँदै आएको गोर्खा पेन्सनको मुद्दा समाधान गर्ने यही उपयुक्त समय हो भन्नेमा प्रधानमन्त्री सहमत हुनुहुन्छ?”
जवाफमा प्रधानमन्त्री स्टार्मरले भने:
“उहाँले उल्लेख गर्नुभएको जातीय आक्रमण अत्यन्त लज्जास्पद छ। म यसको कडा शब्दमा निन्दा गर्दछु र आशा गर्दछु कि सम्पूर्ण सदनले पनि यसको निन्दा गर्नेछ। हामी हाम्रा गोर्खाहरूसँग दृढतापूर्वक उभिएका छौँ। उनीहरूले हाम्रो सशस्त्र सेनामा अतुलनीय योगदान दिएका छन् र आज पनि दिइरहेका छन्।
गोर्खा पेन्सनको विषयमा मन्त्रीहरूले सांसद बेकर, गोर्खा भूतपूर्व सैनिकहरू तथा नेपाल सरकारसँग रचनात्मक छलफल गरेका छन्। यी छलफलहरू आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।”






