काठमाडौँ । असार आफैँमा खेत जोत्ने, खन्ने र धान रोप्ने चटारोको महिना । यो बर्खामा कृषकको उत्सवलाई अझै रोचक बनाउन कलाकार राजेश ढकालले ‘असार १६, मौलिक असारे घाँसे जुहारी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।
असारे भाकाको मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ढकालले प्रत्येक वर्ष असारे गीत सिर्जना गर्दै आउनुभएको छ । यसपालिको असारे गीतमा भने वैदेशिक रोजगारका लागि बाध्यताले गाँउघर र परिवार छोडेर जानुपर्ने बाध्यात्मक युवाको पीडा समेटिएको छ ।
विदेशिएका युवा असारे खेती गर्न बिदा मिलाएर फर्किएको प्रशंसा देखाउँदै किसानको जीवन र असारे महिनाको सांस्कृतिक उत्सव गीतमा रचनात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
ढकालले खेतमा धान रोप्दै युवायुवतीले देशको गरिबी, बेथिति, आर्थिक अभाव अन्त्य गर्ने जस्ता समसामयिक विषय गीतमा समेट्नु भएको छ । गीतकार ढकालकै शब्द र सङ्गीत रहेको म्युजिक भिडियोमा सरोज लामिछाने, सुरु गौतम र कोपिला तामाङ वाइबाको स्वर रहेको छ ।
त्यस्तै, मिलन श्रेष्ठको निर्देशन रहेको उक्त सिर्जनामा सरोज, सरु, कोपिलासहित पशुपति दाहाल, रामेश्वर ढुङ्गाना, सन्तोषी ढुङ्गाना, सुरज नेपाल, रोशन नेपाल, दीपक नेपालीले अभियन गर्नुभएको छ ।






