लन्डन । चार महिनाभन्दा बढी समय बेलायतको सांगीतिक यात्रा पूरा गरेर गायिका सोनी कुँवर क्षत्री नेपाल फर्किएकी छन् ।
सोमबार हिथ्रो एयरपोर्ट हुँदै गायिका सोनी स्वदेशतर्फ लागेकी हुन् । एयरपोर्टको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याउँदै गायिका सोनीले लेखेकी छन्, ‘युकेको सांगीतिक यात्रा सकेर नेपाल जाँदैछु आज , सबैजनालाई धेरै धेरै माया अनि धेरै सम्झना ।’
उनको अन्तिम सांगीतिक भेटघाट तथा बिदाइ कार्यक्रम आइतबार बेलुका ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा भएको थियो ।
युकेमा रहुन्जेल आफूलाई माया गर्ने, आशीर्बाद दिने विभिन्न संघसंस्थामा आबद्ध सम्मानित व्यक्तित्वहरु, सम्पूर्ण आदरणीय बेलायतवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी आफन्तजन तथा इष्टमित्रज्यूलगायत सम्पूर्ण गीत, संगीतप्रेमीहरु सबै सबैलाई उनले धन्यवाद दिएकी छन् ।
सोनी गत फेब्रुअरी तेस्रो साता बेलायत आएकी थिइन् । यहाँ रहँदा सोनीले विभिन्न संघ संस्थाका कार्यक्रम, आफ्नै एकल सांगीतिक कार्यक्रममा समेत प्रस्तुति दिएकी थिइन् ।






