लण्डन, ८ जुलाई । नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमिति बैठकले आगामी १० जुलाई २०२६ मा आयोजना हुने शाखाको १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अन्तिम रूप दिने निर्णय गरेको छ।
बैठकले शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ बेलायतमा नेपाली पत्रकारिताको प्रारम्भिक चरणदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउनु भएका अग्रज पत्रकार सोनाम छिरिङ शेर्पालाई प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। संस्थापक अध्यक्ष तथा सल्लाहकार नविन पोखरेलको संयोजकत्वमा गठित वर्ष पत्रकारिता सम्मान सिफारिस समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। समितिमा वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, पूर्व अध्यक्ष तथा सल्लाहकार नरेश खपाङ्गी मगर, ध्रुवराज अर्याल तथा शाखा अध्यक्ष विमला सेने सदस्य रहनुभएको थियो।
त्यसैगरी, पूर्व गोर्खा सैनिक, विश्व कीर्तिमानी पर्वतारोही, प्रेरणादायी वक्ता तथा अपाङ्गता अधिकार अभियन्ता हरि बुढा मगरलाई अदम्य साहस, दृढ इच्छाशक्ति तथा समाजमा पुर्याउनुभएको प्रेरणादायी योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गर्ने निर्णय गरिएको छ।
यसै अवसरमा नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्याउँदै आउनुभएकी लेखिका, अनुसन्धानकर्ता तथा कवियात्री डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई नेपाली साहित्यको सिर्जना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले शाखाको अधिवेशनका क्रममा देखिएको आन्तरिक विवाद समाधान तथा सहजीकरणका लागि नेपाल पत्रकार महासंघ केन्द्रको पत्रअनुसार गठित विवाद समाधान तथा सहजीकरण समितिले पेश गरेका प्रतिवेदन केहि परिमार्जन सहित कार्यान्वयन गर्ने निर्णय गरेको छ। उक्त समितिमा अग्रज पत्रकार भगीरथ योगी, शाखाका पूर्व अध्यक्षहरू नविन पोखरेल, चिरन शर्मा, नरेश खपाङ्गी मगर, ध्रुवराज अर्याल तथा सदस्य सचिवका रूपमा शाखा अध्यक्ष विमला सेने रहनुभएको थियो।
यसैगरी, प्रतिवेदनका सिफारिस तथा महासंघको विधानबमोजिम शाखाको नयाँ सदस्यता आगामी अगस्ट २०२६ देखि खुला गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी विस्तृत सूचना स्थापना दिवसपछि सार्वजनिक गरिने शाखाले जनाएको छ।
बैठकले शाखाका संस्थापक सदस्य विपिन निरौलालाई शाखाको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। साथै, उहाँले शाखासम्बन्धी विभिन्न माध्यमबाट सार्वजनिक गर्दै आएका भ्रामक सामग्री आत्मालोचनासहित तत्काल रोक्न तथा शाखाको नाममा सञ्चालनमा रहेका इमेल, फेसबुक लगायतका सामाजिक सञ्जाल अकाउण्टसँग सम्बन्धित आवश्यक पहुँच विवरण शाखालाई उपलब्ध गराउनुपर्ने निर्णय पनि गरिएको छ।






