गुमान सिंह थापा बेलायत।
हरेक वर्ष आयोजना गरिने बाग्लुङ्गे समाज यूकेको बहुप्रतीक्षित वार्षिक भेटघाट कार्यक्रम २०२६ गत ४ जुलाई शनिबारका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
उपाध्यक्ष तथा इभेन्ट कोर्डिनेटर गुमान सिंह थापाको अगुवाइमा उहाँको टोलीले बिहान ११ बजेदेखि नै हल व्यवस्थापन, सजावट र सम्पूर्ण बन्दोबस्ती पूरा गरेपछि १२ बजे प्रवेशद्वार खुला गरिएको थियो। कार्यक्रममा कोषाध्यक्ष लच्छु पुनको टोली र पूर्व कोषाध्यक्ष हिरा पुनले टिकट बिक्री तथा प्रवेशद्वारको व्यवस्थापन सम्हाल्नुभएको थियो।
दिउँसो करिब २ बजे महासचिव जित पुन र सचिव राजु बोहोराले कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो। सोही अवसरमा निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई अध्यक्ष खड्क थापा, उपाध्यक्ष गुमान सिंह थापा तथा पूर्व अध्यक्ष छविमाया पुनद्वारा खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका तृतीय सचिव झुपलाल पुनलाई नौमती बाजाको धुनका साथ हल प्रवेश गराई खादा र पुष्पगुच्छाले विशेष स्वागत गरिएको थियो। लगत्तै नरेश सलामीको संयोजनमा गठित बाग्लुङ्गे भलिबल टोलीले विभिन्न प्रतियोगितामा जितेका शिल्ड तथा ट्रफीहरू प्रदर्शन गरिएको थियो भने टोलीलाई प्रमुख अतिथि पुनले खादा लगाई बधाई तथा सम्मान ज्ञापन गर्नुभयो। सोही समयमा खाजाको व्यवस्थापन खुल्ला गरिनुका साथै अतिथिहरू आउने क्रम जारी थियो भने अर्कोतर्फ भीम थापाको संयोजकत्वमा स्थापित समाजकै नौमती बाजाको धुन गुञ्जिरहेको थियो।
औपचारिक सत्रलाई अगाडि बढाउने क्रममा प्रमुख अतिथि झुपलाल पुन, निवर्तमान अध्यक्ष धन बुढाथोकी, पूर्व अध्यक्ष छविमाया पुन र वर्तमान अध्यक्ष खड्क थापाले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटनपश्चात् गत एक वर्षभित्र दिवंगत हुनुभएका बाग्लुङ्गेलीहरूको सम्झनामा दुई मिनेट मौन धारण गरिनुका साथै नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो। तत्पश्चात् उपाध्यक्ष तथा कार्यक्रम संयोजक गुमान सिंह थापाले स्वागत मन्तव्य राख्नुभएको थियो।
मन्तव्यपछि बाग्लुङ जिल्लाका चर्चित लोकगायकहरू राजेन्द्र घर्ती मगर र दिलीप श्रीस मगर, अतिथि कलाकारहरू दोहोरी गायिका सम्झना भण्डारी, नृत्याङ्गना अस्मिता राना, स्थानीय गायक सन्तोष पुन मगरका साथै लिसरा डान्स ग्रुपका कोरिओग्राफी, गायिका र चार जना नर्तकीहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। साथै, विश्वविद्यालयबाट स्नातक (University Graduate) उपाधि हासिल गरेका दुई जना छात्राहरूलाई खादा र प्रमाणपत्रसहित सम्मानित गरियो। त्यसपछि बाग्लुङ्गे समाज यूकेका अध्यक्ष खड्क थापाले समाजका तर्फबाट आफ्नो मन्तव्य राख्नुभएको थियो।
मन्तव्यको सँगसँगै कार्यक्रम मुख्य मनोरञ्जनात्मक तथा सांस्कृतिक सत्रतर्फ प्रवेश गरेको थियो, जसको सञ्चालन सांस्कृतिक सचिव लक्ष्मण रानाले गर्नुभएको थियो। बाग्लुङ्गेपनको झल्को दिने गरी आमन्त्रित कलाकारद्वय राजेन्द्र घर्ती मगर र दिलीप श्रीस मगरका साथै अतिथि कलाकार सम्झना भण्डारीले बेजोड एकल प्रस्तुति दिनुभएको थियो, जसमा उपस्थित सम्पूर्ण बाग्लुङ्गेलीहरूले नाचेर भरपूर मनोरञ्जन लिएका थिए।
बीच-बीचमा अतिथि डान्सर अस्मिता राना, कमिटी सदस्य तारा पुन र लिसरा डान्स ग्रुपको नृत्यले कार्यक्रममा थप आकर्षण थपेको थियो। यी सबै दृश्यहरूलाई वेब मास्टर नन्द पुनले सिनेम्याटिक क्यामेरामा र मिडिया सेकेन्डरीले स्टिल क्यामेरामा कैद गरिरहनुभएको थियो। मञ्चको एक छेउबाट मिडिया सेकेन्डरीले पावरपोइन्टमार्फत कार्यक्रम सञ्चालन र राफल ड्र पुरस्कारका लागि सहयोग गर्ने दानवीरहरूको नाम र समाजको पोस्टर सेतो पर्दामा प्रदर्शन गरिरहेको थियो।
कलाकारहरूको प्रस्तुतिपछि बीएफबीएस (BFBS) का अतिथिहरू स्टेसन म्यानेजर योगराज राई, कार्यक्रम प्रस्तोताद्वय रूपा राना र आशा पुनलाई अध्यक्षद्वारा खादा र मायाको चिनो प्रदान गरी सम्मान गरियो। लगत्तै रात्रीभोज खुल्ला भएको जानकारी दिँदै उपाध्यक्ष गुमान सिंह थापा, सचिव राजु बोहोरा, सांस्कृतिक सचिव लक्ष्मण राना र कोषाध्यक्ष लच्छु पुनको समूहले राफल ड्र सञ्चालन गर्नुभएको थियो, जसमा कार्यसमितिका महिला सदस्यहरूले टिकट बिक्रीमा सहयोग पुर्याउनुभएको थियो।
पूर्व अध्यक्ष छविमाया पुनको टोलीले सुरुदेखि अन्त्यसम्म कलाकार तथा अतिथिहरूको रेखदेख र खानपिन व्यवस्थापनमा सहयोग गरेको थियो। राफल ड्र सकिएलगतै भीम थापाको अगुवाइमा समाजको आफ्नै नौमती बाजाको प्रस्तुति सुरु भयो, जसमा सबैले उत्साहका साथ नृत्य गरेका थिए।
साँझको ७ बजिसकेपछि बाग्लुङ जिल्लाको अत्यन्तै चर्चित एवं मौलिक भाका ‘झ्याम्रे’ को पालो आएको थियो। सबै कलाकार र नाचगानका पारखी बाग्लुङ्गेलीहरू एकत्रित भई मौलिक झ्याम्रे भाकामा झुमेका थिए। सबैको नृत्यमा बाग्लुङको मौलिक पहिचान झल्किएको थियो र पूरै वातावरण बाग्लुङ्गेमय बनेको थियो। झ्याम्रेमा रमाउँदा रमाउँदै समय बितेको पत्तै नपाई राति करिब १० बजे स्वतःस्फूर्त सरसफाइका साथ कार्यक्रम समापन भएको थियो।
अन्त्यमा, २०२६ सालको वार्षिक भेटघाट कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारिदिनुहुने सम्पूर्ण अभिभावक, दाजुभाइ, दिदीबहिनी, आमन्त्रित कलाकार, विशिष्ट अतिथि, नौमती बाजा समूह, कार्यसमितिका पदाधिकारी, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने महानुभावहरू, ड्रिंक्स वितरणमा सहयोग गर्ने महिला सदस्यहरू, स्वादिष्ट भोजन व्यवस्थापन गर्ने एम्पायर ब्याङ्केटिङ एण्ड हल तथा साउन्ड सिस्टम उपलब्ध गराउने गोल्डी प्रोडक्सनलाई समाजका अध्यक्ष खड्का थापाले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। कार्यक्रमको फोटोग्राफी, भिडियोग्राफी र वेब डिजाइनिङ वेब डिजाइनर नन्द पुन र मिडिया सेक्रेटरी बिसन थापाले गर्नुभएको छ, जसलाई तयारी पूरा हुनासाथ क्रमशः पोस्ट गर्दै लगिने समाजले जनाएको छ।







