बेलायत । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको अध्यक्षमा अमेरिका निवासी संस्थाका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी निर्वाचित हुनुभएको छ। गत जुलाई ७ देखि ९ तारिखसम्म सम्पन्न निर्वाचनको शुक्रवार सार्वजनिक मतपरिणामअनुसार सुवेदीले आफ्ना प्रतिस्पर्धी क्यानाडा निवासी सुरेन उप्रेतीलाई पराजित गर्दै नेतृत्व सम्हाल्न सफल हुनुभएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट तारा अधिकारी र उपाध्यक्ष (अमेरिका क्षेत्र) मा शकुन ज्ञवाली विजयी हुनुभएको छ। यसैगरी, महासचिव पदमा अमेरिकाकै राजु सिटौला निर्वाचित हुनुभएको छ। अन्य महत्त्वपूर्ण पदहरूमा भने निर्विरोध चयन भएको छ, जसअनुसार सचिवमा नेपालका ऋषभदेव घिमिरे र कोषाध्यक्षमा अमेरिकाकी पुष्पा खनाल रहनुभएको छ। केन्द्रीय सदस्यहरूमा डा. पारसमणि दङ्गाल (भारत), हरिमाया अधिकारी (अमेरिका), महेश्वर पन्त (अमेरिका), मीरा कोइराला (अमेरिका) र राजेन्द्र केसी (नेपाल) निर्वाचित हुनुभएको छ।
निर्वाचन सम्पन्न भएपश्चात् प्रमुख निर्वाचन आयुक्त डा. चूडामणि खनाल र निर्वाचन अधिकृत अम्बिका लोहनीले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली भाषा र साहित्यको सेवामा अनवरत संलग्न स्रष्टाहरूको गरिमामय संस्थाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरेकोमा अनेसास बोर्ड अफ ट्रष्टी, निवर्तमान अध्यक्ष, केन्द्रीय कार्यसमिति तथा सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। साथै, निर्वाचन समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।







