काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदीसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकता ऐन तथा त्यससँग सम्बन्धित पछिल्ला विकासक्रमबारे विस्तृत छलफल गरेको छ ।
भेटका क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रिया, त्यसक्रममा देखिएका व्यावहारिक चुनौती तथा समाधानका सम्भावित उपायबारे विचार–विमर्श भएको थियो। साथै, नागरिकता ऐनसम्बन्धी पछिल्ला विकासक्रमका विषयमा प्रतिनिधिमण्डललाई अद्यावधिक जानकारी गराइएको थियो ।
प्रतिनिधिमण्डलको नेतृत्व गैरआवासीय नेपाली संघकी उपाध्यक्ष, गैरआवासीय नेपाली कल्याणकारी विभागकी प्रमुख तथा नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गरेकी थिइन् । भेटका क्रममा उपसचिव सुवेदीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उक्त प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण भइरहेको जानकारी दिए ।






