नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

SHARE:

कोमल मल्ल।

लण्डन, ११ जुलाई। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा २१३औँ भानु जयन्ती कवि गोष्ठी तथा प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहजनक रूपमा मनाइएको छ।

वेस्ट लण्डनस्थित एसबीआई कलेजको हलमा आयोजित समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै परिषद्का पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार हरिसिंह थापाले नेपाली भाषा-साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुभयो। साथै, उहाँले बेलायतमा नेपाली भाषा-साहित्यको समृद्धिका लागि परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ शाहले सन् १९९५ मा यस परिषद्को स्थापना गरेर जग बसाउन विशिष्ट योगदान पुर्‍याएको र इतिहास रचेको स्मरण गर्नुभयो।

सभापतिको आसनबाट बोल्दै परिषद्का अध्यक्ष एवं वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले नेपाली पहिचानलाई युगयुगसम्म जीवन्त राख्न हाम्रा भाषा, साहित्य र संस्कृति जस्ता चिनारीहरू जोगाउँदै लैजानुपर्ने औचित्यमाथि प्रकाश पार्नुभयो।

यसअघि स्वागत भाषण गर्दै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष ध्रुव केसीले तत्कालीन अत्यन्त अविकसित समाज र इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाउनुभयो, त्यो आफैँमा एक साहसिक कदम भएको बताउनुभयो। यसले नेपाली साहित्यको यात्रा तथा समाजको चेतना र एकता जागरण गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

समारोहमा परिषद्का सल्लाहकार तथा कोसेली नेपाली सांस्कृतिक परिवार यूकेका पूर्व अध्यक्ष मदन थापाले नेपाली साहित्य विकास परिषद् यूकेले विदेशमा नेपाली भाषा, साहित्य र संस्कृतिलाई जीवन्त राख्न अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो। आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्न रूपले भिजेको उल्लेख गर्दै उहाँले परिषद्ले स्थापनाकालदेखि नै बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य निरन्तर गरिरहेको बताउनुभयो।

कार्यक्रम सञ्चालन गर्दै परिषद्की महासचिव डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो। बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको नभई समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको उहाँले बताउनुभयो।

आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी आरम्भ भएको सो समारोहमा परिषद्का पूर्व अध्यक्ष हरिसिँह थापाले भानुभक्तकृत रामायणका श्लोकहरू वाचन गर्नुभएको थियो भने परिषद्का प्रमुख सल्लाहकार, वरिष्ठ समाजसेवी एवं यती नेपाली एसोसिएसनका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसैगरी कार्यक्रमको दोस्रो चरणमा आयोजित कवि गोष्ठीमा वरिष्ठ नागरिक बद्रीप्रसाद कुँइकेलले भजन गाएर कविता वाचनको सुरुवात गर्नुभएको थियो। गोष्ठीमा कवि तथा कवयित्रीहरू हरिसिंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, मनोज अन्जान, मदन थापा र कोमल मल्लले आफ्ना कविता वाचन गर्नुभएको थियो भने घनबहादुर थापा मगर र वासुदेव सापकोटाका कविताहरू कोमल मल्लले वाचन गरेर सुनाउनुभएको थियो।

वरिष्ठ सहअध्यक्ष ध्रुव केसीको स्वागत मन्तव्य, सहअध्यक्ष डा. सुधा श्रेष्ठको उद्घोषण र अध्यक्ष कोमल मल्लको सभापतित्वमा सम्पन्न सो समारोहमा परिषद्का तर्फबाट अध्यक्ष मल्लले कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल ओबीई, डा. जनककुमारी धिताल, ध्रुव केसी, घनबहादुर थापा मगर, कृष्णा थापा मगर, कृष्ण भट्ट, मनोज अन्जान, मदन थापा, डा. सुधा श्रेष्ठ, हरिसिंह थापा र कोहिनूर मल्ललाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!