लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेले संयुक्त रुपमा २१३औं भानु जयन्ती तथा ९५औं ईश्वर जयन्ती मनाएका छन् ।
शनिबार ११ जुलाई इरानी रेस्टुरेन्ट ग्रीनफोर्डमा विभिन्न कार्यक्रमसहित भानु तथा ईश्वर जयन्ती मनाइएको हो । कार्यक्रम प्रा. डा. देवीप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा कवि तथा मुक्तककार डा. रुपक श्रेष्ठको चौशुल र पोख्तक तथा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास कर्मवीर कृतिमाथि परिचर्चा गरियो ।
अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा सूर्य सुवेदी ओबीई रहेका थिए ।कार्यक्रममा धेरै साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा मुक्तककार भोज राज लन्डनबाट २५ किमि साइकलमा यात्रा गरेर सहभागी भए ।
सोही क्रममा सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६ सम्मान विशिष्ट अतिथि प्रा. डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रमलाई अनेसास बेलायत च्याप्टरका मिडिया सेक्रेटरी कुमार केसीले अत्यन्त सुन्दर र छरितो ढंगले सञ्चालन गरेका थिए ।
संस्थाका अध्यक्ष राज श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन उपस्थिति जनाउने र सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, सम्मानित साहित्यकार र स्रष्टाहरू, अतिथिगण, सम्पूर्ण सहभागी महानुभावलगायत सबैप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे ।


















