किरात याक्थुङ चुम्लुङ यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न

SHARE:

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न भएको छ ।

११ जुलाई २०२६ मा संस्थाकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता र अमेरिकाको मिचिगन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापनरत डा. मारोहाङ खावाहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे रि योगेश राई, एमएमसी क्याम्पस धरानका पूर्वप्रमुख चन्द्र फोम्बोलगायत बेलायतमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, सामाजिक, सांस्कृतिक तथा नागरिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा दर्जनौँ संघ–संस्थाका प्रतिनिधिहरूको विशिष्ट अतिथिका रुपमा उपस्थिति रहेको थियो । साथै नेपालबाट बेलायत भ्रमणमा रहेका राष्ट्रिय कलाकारहरू दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ र लक्ष्मण लिम्बुको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो चरणको औपचारिक सत्रमा सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट–२०२६ का संयोजक तथा उपाध्यक्ष दिपेन्द्र याक्सोले स्वागत मन्तव्य राखेका थिए । त्यसपछि प्रमुख अतिथिलाई संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुले खादा ओढाई स्वागत तथा सम्मान गरेकी थिइन् भने अन्य आमन्त्रित पाहुनाहरुलाई संस्थाका अन्य पदाधिकारीहरुले स्वागत सम्मान गरेका थिए ।

उक्त अवसरमा संस्थाको उन्नति र विकासका लागि निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वहरू तथा संस्थाका सदस्यका परिवारबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यसैगरी, हरेक वर्ष प्रदान गरिने चुम्लुङ अवार्ड ग्रेटर लन्डन सिनियर शाखाका पूर्ण बोखिमलाई तथा यलम्बरहाङ अवार्ड वेस्ट केन्ट शाखाका राम लाबुङलाई प्रदान गर्ने घोषणा गरिएको थियो । पहिलो चरणको कार्यक्रम संस्थाका महासचिव महेश वनेमले सञ्चालन गरेका थिए ।

दोस्रो चरणमा लिम्बु समुदायको मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको सुरुवात किरात याक्थुङ चुम्लुङ वेन्सा चुम्भोले सिसेक्पा तङ्नामसँग सम्बन्धित अनिकाल खेदाउने सांस्कृतिक विधि प्रस्तुत गरेर गरेका थिए । त्यसपछि लिम्बु परम्पराअनुसार हिङ तङ्सिङ येवाहरूले पूजा–आराधना सम्पन्न गरेका थिए ।

सांस्कृतिक विभागका संयोजक भक्तिहाङ आङ्देम्बेका अनुसार हिङ तङ्सिङ र सी–तङ्सिङ दुई प्रकारका धार्मिक विधि हुन् । हिङ तङ्सिङ सामूहिक रूपमा एक वा तीन रातसम्म सञ्चालन गर्ने परम्परा भए पनि बेलायतको समय, भूगोल र परिस्थितिअनुसार यसलाई छोट्याएर सम्पन्न गरिएको उनले बताए । उनका अनुसार हिङ तङ्सिङ समाजको कल्याण, सुरक्षा र समृद्धिको कामना गर्दै गरिने सामूहिक पूजा हो भने सी–तङ्सिङ दिवङ्गत आत्मालाई खेमालोकसम्म पुर्‍याउने धार्मिक विधि हो ।

कार्यक्रममा लिम्बु समुदायको मौलिक सांस्कृतिक नृत्य च्याब्रुङ (केःलाङ) पनि प्रस्तुत गरिएको थियो । युमा साम्यो तथा किरात धर्मका प्रतिनिधिहरूसहित संस्थाका आठवटा शाखा समितिले आ–आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए । दोस्रो चरणको कार्यक्रम भक्तिहाङ आङ्देम्बे र सन्ध्या (माक्सोति) ओख्याबुङले सञ्चालन गरेका थिए ।

तेस्रो चरणमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिएको थियो । नेपालबाट बेलायत भ्रमणमा रहेका राष्ट्रिय कलाकारहरू दीपा सुहाङ, रुक्सना लिम्बु, राजेन्द्र केरुङ र लक्ष्मण लिम्बुले आफ्ना आकर्षक प्रस्तुति दिएका थिए । कलाकारहरूको प्रस्तुतिमा सहभागीहरू रमाउँदै नाचेका थिए । साथै सहभागीहरूले आ–आफ्नो टेन्ट वरिपरि सामूहिक रूपमा धान नाच प्रस्तुत गर्दै तङ्नामको रौनक अझ बढाएका थिए । यस चरणको कार्यक्रम संस्थाका सचिव सकुन लिम्बुले सञ्चालन गरेकी थिइन् । आयोजकका अनुसार यस वर्षको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रममा विगतका वर्षहरुभन्दा उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यक्रमको व्यवस्थापन अत्यन्त व्यवस्थित र सफल रहेको प्रतिक्रिया दिएका थिए ।

प्रमुख अतिथि डा. मारोहाङ खावाहाङ लिम्बु समुदायको अत्यन्त महत्त्वपूर्ण पर्व सिसेक्पा तङ्नाममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजकप्रति आभार व्यक्त गरे । उनले संसारको जुनसुकै मुलुकमा बसे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण आयोजकलाई सफल कार्यक्रमका लागि बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरिन् । सम्बोधनका क्रममा लिम्बुले संस्थाको उद्देश्य केवल लिम्बु समुदायको उत्थानमा सीमित नभई सहअस्तित्वमा रहेका विभिन्न जातीय, क्षेत्रीय, नागरिक समाज तथा अन्य सामाजिक संस्थासँग सहकार्य, सहयोग र आपसी सम्मानको सम्बन्ध कायम गर्नु रहेको बताइन् । उनले यस दिशामा संस्थाले विगतदेखि नै सौहार्दपूर्ण र समन्वयात्मक सम्बन्ध स्थापित गर्दै आएको उल्लेख गरिन् ।

उनले वर्तमान समयमा स्वदेश तथा विदेशमा सहअस्तित्व र आपसी सम्मानको भावनामा केही चुनौती देखिएको आभास भइरहेको उल्लेख गर्दै, यस्ता परिस्थितिले भविष्यमा निम्त्याउन सक्ने जोखिमलाई समयमै मूल्याङ्कन गरी आपसी समझदारी, संवाद र सहअस्तित्वको सम्मानका आधारमा सौहार्दपूर्ण वातावरणमा समाधान गर्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष सेन्दाङले सामाजिक सञ्जालले कतिपय संवेदनशील विषयलाई अझ उत्तेजित बनाउने भूमिका खेलिरहेको उल्लेख गर्दै यस्ता विषयमा आफ्नो धारणा सार्वजनिक गर्दा सबैले जिम्मेवार, संयमित र सचेत भएर अभिव्यक्ति दिनुपर्ने आवश्यकता औँल्याइन्। उनले सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट संस्थाको प्रमुख वार्षिक कार्यक्रम भएको र संस्था स्थापना भएदेखि नै निरन्तर आयोजना हुँदै आएको बताइन्।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने संयोजक दिपेन्द्र याक्सो, कार्यसमितिका पदाधिकारी, शाखा समिति, विभागीय संयोजक, स्वयंसेवक तथा सम्पूर्ण किरात याक्थुङ चुम्लुङ यूके परिवारप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिइन् । अन्त्यमा उनले “तागेरा निङ्वाभु माङले हामी सबैको कल्याण गरून्” भन्ने शुभकामनासहित कार्यक्रम समापन भएको घोषणा गरिन्।

नर थाम्सुहाङ
मिडिया संयोजक, किरात याक्थुङ चुम्लुङ यूके

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!