लन्डन । बेलायतको कोभेन्ट्रीमा २१३औँ भानु जयन्ती मनाइएको छ ।
विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाले १२ जुलाई २०२६ मा २१३औँ भानु जयन्ती कार्यक्रम सौहार्दपूर्ण, साहित्यिक र भावनात्मक वातावरणमा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ “बिवश”ले गरेका थिए भने कार्यक्रम सञ्चालन महासंघकी सदस्य ज्ञानु दाहालले गरेकी थिइन् ।
कार्यक्रम विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतका अध्यक्ष श्री भरतकुमार श्रेष्ठ “बिवश” तथा विशेष अतिथिहरू बुवा–आमाहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । सोही अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा उपस्थित सम्पूर्ण महानुभावहरूले पुष्पाञ्जली अर्पण गर्दै उनीप्रति श्रद्धा व्यक्त गरेका थिए । साथै संयुक्त रूपमा नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। कार्यक्रममा मिडल्याण्ड क्षेत्रमा बसोबास गर्ने बुवा–आमाहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको थियो ।
कोभेन्ट्रीमा स्थायी रूपमा बसोबास गर्दै आएका मिलनसार व्यक्तित्व इन्द्रबहादुर कुँवरको अल्पायुमै भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका सचिव एवं वैज्ञानिक डा. प्रदीप लामिछानेले आदिकवि भानुभक्त आचार्यको जीवन, साहित्यिक योगदान र नेपाली भाषा–साहित्यमा उनले पुर्याएको ऐतिहासिक योगदानबारे समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोभेन्ट्री नेपाली समाजका संरक्षक एवं बौद्धिक व्यक्तित्व विष्णु सापकोटाले संस्कृत भाषामा महर्षि वाल्मीकिद्वारा रचित रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली जनमानसमा पुर्याउने आदिकवि भानुभक्त आचार्यको अतुलनीय योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरू डा. टीका भण्डारी, डा. सुधा शाही, मनोज आचार्य, एलिना संग्रौला, सीता पौडेल, विज्ञान पौडेललगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । महासंघकी कोषाध्यक्ष कल्पना दाहालले समेत आफ्नो साहित्यिक प्रस्तुति दिएकी थिइन् ।
चियापानपछिको साहित्यिक वातावरण अझै जीवन्त बनेको थियो। बेलायतको टन्टलापुरे घामलाई समेत साहित्यिक अनुरागले ओझेल पार्दै कोभेन्ट्रीमा नेपाली भाषा, साहित्य र संस्कृतिको सुन्दर संगम देखिएको थियो ।
कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ “बिवश”ले वरिष्ठ साहित्यकार कृष्ण धरावासीद्वारा लेखिएको आदिकवि भानुभक्त आचार्यको रामभक्ति धारा र निपूर्ण भक्तिधारासम्बन्धी आलेखको संक्षिप्त वाचन गरेका थिए । साथै उनले कविता वाचन गर्दै प्रवासमा नेपाली साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने जिम्मेवारी अब सम्पूर्ण नेपाली समुदायको काँधमा आएको बताए ।
उनले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई आफ्नो पहिचानका रूपमा संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउन सबै एकजुट हुनुपर्ने गहिरो सन्देश व्यक्त गरे । कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यप्रेमी, अतिथि तथा सहभागी महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले कार्यक्रमको समापन रेका थिए ।








