टोकियोमा हुने ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’मा विश्वभरका नेपाली पत्रकार जुट्दै

SHARE:

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै छ । आउँदो जुलाई २५ मा जापानको राजधानी टोकियोमा हुने उक्त कन्फ्रेन्सको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरु रहेका छन् ।

‘प्रवासी सञ्चार माध्यम मार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका ११ वटा वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानका पत्रकार र विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।

विश्वव्यापीकरणसँगै नेपाली समुदायको उपस्थिति विश्वका धेरै मुलुकमा विस्तार हुँदै जाँदा प्रवासी पत्रकारिताको भूमिका पनि थप महत्वपूर्ण बन्दै गएको छ । उच्च शिक्षा, रोजगारी, व्यवसाय तथा विभिन्न सिलसिलामा विदेश पुगेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म पु¥याउने महत्वपूर्ण जिम्मेवारी अहिले प्रवासी पत्रकारिता माथि आएको छ । सोही परिवेशलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ जापान शाखा उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवासी सञ्चार माध्यम मार्फत नेपाल जोड्न खेलेको भूमिका, प्रवास पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखा बीचको सम्बन्ध, प्रवासको नेपाली समुदाय र मिडियाको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव, प्रेस स्वतन्त्रता लगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्र र वैदेशिक शाखा बीचको सम्बन्धलाई औपचारिकता प्रदान गर्नका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ले बताए । विदेशमा असहज परिस्थितिमा रहेर पनि प्रवासी पत्रकारहरु देशप्रति उत्तिकै जिम्मेवार, गम्भीर रहँदै पत्रकारिता गरिरहेको सन्देश यस सम्मेलनले दिने मल्ल बताउँछन् ।

‘प्रविधिले गर्दा प्रभाव र पहुँचका हिसाबले अब नेपालमा रहेर वा नेपाल बाहिर बसेर गरिने पत्रकारिता फरक रहेन । त्यसो त पत्रकारिता ग्लोवल शैलीको भइसकेको छ ।’ नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारी भन्छन्, ‘डायस्पोरामा सक्रिय पत्रकार र उनीहरूमार्फत भैरहेको पत्रकारिता डायस्पोराको नेपाली समुदायको निम्ति अर्थपूर्ण छ भने नेपालको हकमा पनि अपरिहार्य बन्दै गएको छ ।’ डायस्पोरा पत्रकारिताको बहुआयामिक महत्वमाथि विमर्श गर्नुपर्ने आवश्यकता छ, यस्तो समयमा हुन लागेको ग्लोबल मिडिया सम्मेलनको महत्त्वपूर्ण उपादेयता देखिने उनी बताउँछन् ।

नेपाल पत्रकार महासंघ जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्ने यस सम्मेलनलाई प्रवासी पत्रकारिताको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । आयोजकका अनुसार सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेखनीय साथ दिएको छ । जापानमा स्थापित अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशन अन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट सम्मेलनका मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन् ।

आयोजकले सम्मेलनको सफलताका लागि साथ दिने मुख्य कार्यक्रम साझेदार स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट, इभेन्ट पार्टनर फ्रन्टअप ई–सिम तथा अन्य प्रायोजक, सहयोगी संस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै सार्वजनिक र निजी क्षेत्रबीचको यस्तो सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!