पूर्ण गुरुङ
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अल्डरसटस्थित आफ्नै गुम्बामा गत शनिवार १८ जुलाईका दिन बौद्ध धर्मको महत्त्वपूर्ण पर्व छयोखोर दुघ्येन (धर्म चक्र प्रर्वत) विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
भगवान् बुद्धका चार प्रमुख कार्यमध्ये पहिलो धर्म देशना (धर्म चक्र प्रवर्तन) को स्मरणमा मनाइने यो पर्व बौद्ध धर्मावलम्बीका लागि विशेष महत्त्व राख्दछ । बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले पहिलो पटक भारतको सारनाथमा ‘चार आर्य सत्य’ सम्बन्धी उपदेश दिएको ऐतिहासिक अवसरको सम्झनामा विश्वभरका बौद्ध समुदायले यो पर्व मनाउने गर्दछन् । सोही परम्पराअनुसार बीसीसी युकेले पनि प्रत्येक वर्ष यस पर्वलाई विशेष धार्मिक उत्सवका रूपमा मनाउँदै आएको छ ।
कार्यक्रममा अतिथि लामा गुरु लोपेन पासाङ शेर्पाले बुद्ध धर्मको आधार मानिने चार आर्य सत्यको महत्त्वबारे विस्तृत प्रवचन दिएका थिए । उनले बुद्धले सारनाथमा दिएको पहिलो धर्म देशनाले मानव जीवन, दुःखको कारण, त्यसबाट मुक्त हुने मार्ग तथा अष्टाङ्गिक मार्गको महत्वलाई स्पष्ट रूपमा व्याख्या गरेको बताउँदै यसको समसामयिक सान्दर्भिकतामाथि प्रकाश पारेका थिए ।
सो अवसरमा बीसीसी युकेका प्रमुख लामा खेन्पो वाङ्गचुक, खेन्पो यान्तेन, अतिथि गुरु खेन्पो घ्युर्मी र अतिथि गुरु लोपेन पासाङ शेर्पाले संयुक्त रूपमा विशेष पूजा, पाठ तथा धार्मिक अनुष्ठान सञ्चालन गर्दै विश्व शान्ति, सबै प्राणीको कल्याण तथा सुख–समृद्धिको कामना गरेका थिए ।
त्यस्तै, कार्यक्रमको प्रारम्भमा अतिथि लामा गुरु लोपेन पासाङ शेर्पालाई बीसीसी युकेका तर्फबाट अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख शारदा गुरुङले फूल, मायाको चिनो र खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष हर्क गुरुङ, प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ, सल्लाहकार जङ्गबहादुर गुरुङ, आमा प्रमुख शारदा गुरुङ, पूर्वआमा प्रमुख जगना गुरुङसहित आमा समूह, शेर्पा एसोसिएसन युकेका पदाधिकारीहरू तथा बेलायतका विभिन्न स्थानबाट आएका ठुलो सङ्ख्यामा बौद्ध धर्मावलम्बी श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा भक्तजनहरूको सुविधाका लागि जलपान तथा भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागी श्रद्धालुहरूले गुम्बाको धार्मिक तथा सामाजिक गतिविधिका लागि स्वेच्छिक दानसमेत अर्पण गरेका थिए ।
बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाको अध्यक्षता र बीसीसी युकेका सहकोषाध्यक्ष तथा शेर्पा एसोसिएसन युकेका अध्यक्ष रिन्जी शेर्पाको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ (एमभिओ) ले संचालन गरेका थिए ।
बीसीसी युकेले छयोखोर दुघ्येनलाई आफ्नो वार्षिक धार्मिक क्यालेन्डरको प्रमुख उत्सवका रूपमा निरन्तर मनाउँदै आएको जनाएको छ ।






