बेलायतमा मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यताबारे अन्तरक्रिया सम्पन्न

SHARE:

मेडस्टोन, केन्ट । बेलायतमा “मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा १८ जुलाई २०२६ मा याल्डिन, मेडस्टोन (केन्ट)मा
संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आमन्त्रित वक्ताका रूपमा प्रोफेसर डा. मारोहाङ खवाहाङ र श्रीमती गंगा किम्दाङको उपस्थिति रहेको थियो भने संस्थाका पदाधिकारी, बुद्धिजीवी तथा अन्य सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भए पनि समयको अभावका कारण सबै सदस्यलाई पूर्वसूचना दिन सम्भव हुन सकेन ।

अन्तरक्रियाका क्रममा प्रोफेसर डा. मारोहाङ खवाहाङले मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यताबीचको सम्बन्धबारे धार्मिक दर्शन, सामाजिक संरचना तथा ऐतिहासिक प्रमाणका आधारमा आफ्नो धारणा प्रस्तुत गरे। उनका अनुसार मुन्धुम याक्थुङ (लिम्बू) समुदायको पवित्र मौखिक ज्ञान–परम्परा हो, जसमा सृष्टिको उत्पत्ति, ब्रह्माण्डीय दृष्टिकोण, नैतिक मूल्य, संस्कार, सामाजिक सम्बन्ध, वंश परम्परा तथा मानव र प्रकृतिबीचको सम्बन्धबारे विस्तृत व्याख्या गरिएको छ। याक्थुङ समुदायका लागि मुन्धुम केवल धार्मिक ग्रन्थ मात्र नभई उनीहरूको सभ्यता, दर्शन, संस्कृति र पहिचानको मूल आधार रहेको उनले बताए ।

उनले मुन्धुममा सृष्टिकालदेखि नै महिलाको महत्त्वपूर्ण भूमिका र अग्रस्थानको उल्लेख पाइने भएकाले याक्थुङ समाजमा मातृसत्तात्मक मूल्य र मान्यताको प्रभाव देखिने तर्क प्रस्तुत गरे । साथै, मानव उत्पत्ति र सभ्यताको क्रमिक विकाससँग सम्बन्धित विभिन्न अवधारणाहरू पनि मुन्धुममा समेटिएको उनको भनाइ थियो।

प्रोफेसर खवाहाङले मुन्धुममा प्रारम्भदेखि नै प्रकृति–मैत्री जीवनशैली, पारिस्थितिकीय ज्ञान तथा इकोसिस्टमसँग सन्तुलित सहअस्तित्वको अवधारणा रहेको उल्लेख गर्दै याक्थुङ सभ्यताले वातावरण संरक्षणमा पनि विशेष महत्त्व दिएको धारणा राखे । उनले वर्तमान विश्व सामाजिक, सांस्कृतिक तथा पारिस्थितिक परिवर्तनको चरणमा रहेकाले मुन्धुममा आधारित विश्वास, दर्शन र समकालीन यथार्थबीचको सम्बन्ध बुझ्न थप अध्ययन, अनुसन्धान र बहस आवश्यक रहेको बताए ।

हाल मिशिगन विश्वविद्यालयमा प्राध्यापनरत प्रोफेसर डा. मारोहाङ खवाहाङले हिमालयन इन्डिजिनस याक्थुङ कल्चरल सोसाइटीसम्बन्धी अनुसन्धान गरिरहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो । उनको प्रस्तुतिपछि सहभागीहरूले जिज्ञासा राख्दै प्रश्नोत्तर तथा अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव महेश वनेमले गरेका थिए । कार्यक्रमका अन्त्यमा आयोजकले अन्तरक्रियाबाट प्राप्त ज्ञान, अनुभव र सुझावहरू सहभागीहरूले साझा गर्न आग्रह गर्दै ज्ञानको आदान–प्रदानले समाजलाई थप समृद्ध, सचेत र गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।

– नर थाम्सुहाङ
मिडिया संयोजक, किरात याक्थुङ चुम्लुङ यूके

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!