काठमाडौं । लोककलाकार अरुण थापाको २७औं स्मृति दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल मगर विद्यार्थी संघले साउन ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा विशेष समारोह गरी अरुण थापालाई सम्झना गरेको हो । सोही अवसरमा नेपाली लोकगीतको क्षेत्रमा लामो समयसम्म निरन्तर साधनामा रही नेपालको पहिलो सालैजो भाकाको लोकगीत रेकर्ड गराउन सफल गायिका मीना गर्बुजालाई ‘अरुण स्मृति संगीत पुरस्कार-२०८३’द्वारा सम्मान गरियो । पुरस्कार राशि १५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल मगर विद्यार्थी संघका पूर्वअध्यक्ष तथा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले अरुण थापासित उनको जीवनको उत्तरार्धतिरको सहकार्यको स्मृति सुनाए । अध्यक्ष थापाले अरुण थापाका कालजयी सिर्जनाका कारणले उनलाई सबै नेपालीले सम्झिरहने बताए । थापाले अरुण थापाले जीवनमा आर्थिक अभाव र विभिन्न पारिवारिक अव्यवस्था झेल्नु परेकोले उनले आफ्नो जीवनसित मेल खाने गीतहरु रचना गरेको हुनसक्ने बताए ।
यस्तै विशिष्ट अतिथि तथा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रबन्धक किरणबाबु पुनले सिर्जनामा मात्र प्राणी बाँच्न सक्ने भन्दै अरुण थापा र उनीजस्ता कयौं सर्जकहरु र तिनका कृतिहरु जोगाइराख्नु पर्नेमा जोड दिए ।
अर्का विशिष्ट अतिथि तथा मगर संस्कृतिविद् बमकुमारी बुढामगरले दिवंगत अरुण थापाको आत्मालाई शान्ति दिनको लागि पनि नेपालको कला र संस्कृतिलाई बचाउने र थप विकास गर्नुपर्नेमा जोड दिइन् ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षा रैकामगरले अरुण थापाको पुस्ताले मात्र होइन आजको पुस्ताले पनि नेपालको लोकसंगीतको रक्षाको लागि निरन्तर लागिरहनु पर्ने बताए ।
सालैजो शिरोमणि खड्ग गर्बुजाले दिवंगत गायक अरुण थापासितको सहकार्यको अनुभति सुनाए । उनले श्रष्टा साधनाका कारणले सधैं जीवित रहने भएकोले स्वर्गीय भन्न नहुने धारणा राखे ।
कार्यक्रमका अन्य वक्ताहरुले पनि कलाकारहरु गीतसंगीतको विकासको लागि निरन्तर खट्नु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको तर्फबाट निम्ता गरिएका कलाकारहरु र लोकगायक तथा सालैजो शिरोमणि खड्क गर्बुजामगर लगायतले आफ्नो सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
कर्यक्रममा नेपाल मगर विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र रानामगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव यामबहादुर रोकामगरले गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुनमगरले कार्यक्रम समापन गर्दै पहिलो सालैजो गीत रेकर्ड गर्ने श्रष्टा तथा गायिकका मीना गर्बुजा मगरलाई सम्मान तथा पुरस्कृत गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले संगठनले आफ्नो क्षमताले भ्याएसम्म पुरस्कृत र सम्मान गरेको र यो कार्यलाई निरन्तरता दिने बताए ।







