लन्डन । बेलायतको बर्मिङ्घममा आगामी १० अगस्ट २०२६ (सोमबार) नेपाली कला, संस्कृति र तीज पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘बर्मिङ्घम तीज मेला २०२६’ आयोजना हुने भएको छ।
शान्ति नेपाली समाज बेलायतको आयोजनामा वेस्ट ब्रोमविच कलेजिएट एकेडेमी, केल्भिन वे, वेस्ट ब्रोमविचमा मेला हुन लागेको हो । मेला बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकले कार्यक्रममा सबै नेपाली समुदायलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ।
आयोजकका अनुसार मेलामा चर्चित गायिका मेलिना राईको सांगीतिक प्रस्तुति रहनेछ भने शोभा त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नेछिन्।
नेपाली तीज पर्वको मौलिक संस्कृति, परम्परा र दिदीबहिनीबीचको एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक नृत्य, लाइभ म्युजिक, डीजे नाइट, विभिन्न परिकारका फुड स्टल, किनमेल स्टल, मेहेन्दी कर्नर, बालबालिकाका गतिविधि तथा आकर्षक लक्की ड्रको व्यवस्था गरिएको छ।
त्यसैगरी मेलाको विशेष आकर्षणका रूपमा भलिबल प्रतियोगिता र बाल फुटबल प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ।
कार्यक्रमलाई बेलायतका विभिन्न नेपाली सामाजिक संघसंस्थाहरूले सहयोग गरेका छन् । आयोजकले बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नेपाली कला, संस्कृति र तीज पर्वलाई सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।






