लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित गायक राजु लामा बेलायत आइपुगेका छन् ।
मंगोलियन हर्टका प्रमुख गायक लामा सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुगेका हुन् । उनलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा स्वागत गरेका समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् ।
गायक लामाको स्वागतका लागि तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबा, महासचिव रोज लामा, कार्यसमिती सदस्य सुमन वाइबा, पूर्वकोषाध्यक्ष उमा तामाङ, थमु वाइबा, बिरु गोम्जन र राधा तामाङ एयरपोर्ट पुगेका थिए ।

उक्त कार्यक्रमका लागि अन्य कलाकारहरु विश्व दोङ, मनमाया वाइबा, जितु लोप्चन लगायतलाई पनि आउँदैछन् । यस्तै बेलायतमा रहेका कुमार योञ्जनको विशेष प्रस्तुति रहने छ ।
फेस्टिभलमा तामाङ समुदायको ऐतिहासिक धरोधर मानिने लामा, बोन्बो, ताम्बाको भूमिका के हुन्छ भन्ने देखाइने छ भने तामाङ सेलो, म्हेन्दोमाया गीतमा नाचगान हुने आयोजकले जनाएको छ । फेस्टिभल वुडल्यान्ड राइज, ग्रीनफोर्डमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
पहिलो पटक हुन लागेको महोत्सवमा सहभागी हुन आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । कार्यक्रम सफल पार्न आयोजकले विभिन्न व्यक्तिहरुबाट स्वेच्छिक चन्दासमेत संकलन गरिरहेको छ । प्रवेश शुल्क वयस्कलाई २५ पाउन्ड, विद्यार्थीलाई २० पाउन्ड र बालबालिकालाई १५ पाउन्ड लाग्नेछ ।






