काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत विज्ञहरूको परिचालन तथा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली विकासका विषयमा छलफल गरेको छ। भेटका क्रममा संघका उपाध्यक्ष तथा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले आगामी विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मा कृषि क्षेत्रका लागि छुट्टै विषयगत सत्र आयोजना गरी विश्वभर रहेका नेपाली कृषि विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो।
सो अवसरमा डा. रेग्मीले झापा, मोरङ, सुनसरी तथा इलामको दक्षिणी क्षेत्रमा रबरमा आधारित बहुविविध कृषि–वन प्रणालीअन्तर्गत समुदायमा आधारित रबर नर्सरी तथा प्रदर्शन केन्द्र स्थापना गर्ने परियोजनाको अवधारणापत्र प्रस्तुत गर्नुभयो । परियोजनामार्फत गुणस्तरीय बिरुवा उत्पादन, किसानको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा आगामी १० वर्षभित्र करिब २० हजार हेक्टर क्षेत्रमा व्यावसायिक रबर खेती विस्तार गर्ने दीर्घकालीन राष्ट्रिय मार्गचित्र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले कृषि क्षेत्र एनआरएनएको प्राथमिकतामा रहेको उल्लेख गर्दै, विद्यमान नीति तथा कानुनी व्यवस्थाका कारण विदेशमा रहेका नेपाली कृषि विज्ञहरू नेपाल आएर काम गर्न व्यावहारिक कठिनाइ भोग्नुपरेको विषय मन्त्रीसमक्ष राख्नुभयो।
उपमहासचिव कृष्ण पोखरेलले विश्वभर रहेका नेपाली क्षेत्रगत विज्ञहरूको पहिचान गरी उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा दिगो विकास अभियानसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि विभाग नै स्थापना गरेको जानकारी दिनुभयो। उहाँले विश्वभर रहेका नेपाली कृषि विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको कृषि क्षेत्रसँग जोड्दै आधुनिक, व्यवसायिक र दिगो कृषि विकासमा योगदान पुर्याउने उद्देश्यका साथ विभागले विभिन्न कार्य योजना तयार गरिरहेको बताउनुभयो।
जवाफमा मन्त्री गीता चौधरीले कृषि क्षेत्रको विकासका लागि विषयगत नेपाली विज्ञहरूको पहिचान र परिचालन अत्यन्त आवश्यक रहेको बताउँदै एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत यस्ता विज्ञहरूको विवरण संकलन गरी सरकारलाई नीतिगत योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आवश्यकता अनुसार उपयोग गर्न सरकार र एनआरएनएबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
भेटमा कृषि क्षेत्रको दिगो विकास, जलवायु–मैत्री कृषि प्रणाली, लगानी प्रवर्द्धन तथा ज्ञान र प्रविधि हस्तान्तरणमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक र उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।






