वोल्भरह्याम्प्टन, बेलायत। यही अगस्ट ३ तारिख, सोमबार वोल्भरह्याम्प्टनमा आयोजना हुन गइरहेको पोर्चुगलबाट यूके आई बसोबास गर्दै आएका नेपालीहरूको चौथो बृहत् वार्षिक भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ। प्रवासी नेपालीहरूको आत्मीय मिलन, पुराना सम्झनाको पुनर्ताजगी र नयाँ सम्बन्धको सेतु बन्ने विश्वास गरिएको यस कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन सम्पन्न भइसकेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन दवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुने निश्चित भएको छ भने पोर्चुगलका पूर्व महावाणिज्यदूत मकर हमाल विशेष अतिथिका रूपमा उपस्थित रहनेछन्। त्यसैगरी एनआरएनए आईसीसीका केन्द्रीय प्रवक्ता सोम सापकोटा, एनआरएनए युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, एनआरएनए यूके तथा एनआरएनए पोर्चुगलका अध्यक्षहरू, साथै विभिन्न कार्यकालमा एनआरएनए पोर्चुगल तथा अन्य सामाजिक संस्थाको नेतृत्व सम्हालेका पूर्व अध्यक्षहरू, आईसीसी सदस्यहरू र अन्य अग्रज व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ।
मूल आयोजक समिति संयोजक दीपक पौडेलका अनुसार यसपटकको कार्यक्रम केवल यूकेमा बसोबास गर्ने नेपाली पोर्चुगीसहरूको भेटघाटमा मात्र सीमित रहने छैन। हाल पोर्चुगल, नर्वे, डेनमार्क, बेल्जियम, जर्मनी, स्वीट्जरल्याण्ड लगायत विभिन्न युरोपेली देशहरूमा स्थायी रूपमा बसोबास गरिरहेका नेपाली पोर्चुगीसहरूलाई समेत विशेष रूपमा निमन्त्रणा गरिएको छ। विभिन्न देशबाट सहभागीहरू वोल्भरह्याम्प्टन आइपुग्ने क्रम सुरु भइसकेको छ भने अन्यको आगमन पनि निरन्तर जारी रहेको आयोजकले जनाएको छ। यसले कार्यक्रमलाई अझ अन्तर्राष्ट्रिय स्वरूप प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा मनोरञ्जनको पनि विशेष आकर्षण रहनेछ। नेपालका चर्चित गायक प्रकाश दुतराज, चन्द्र शर्मा, अस्मिता डल्लाकोटी र रमेश राज भट्टराईको विशेष सांगीतिक प्रस्तुतिसँगै चर्चित डीजे हेम विष्टको धमाकेदार प्रस्तुति रहनेछ। स्थानीय कलाकारहरूको विविध सांस्कृतिक प्रस्तुति तथा नेपाली मौलिक संस्कृतिको प्रतीक पञ्चेबाजाको गुञ्जायमान धुनले कार्यक्रमस्थललाई अझ उत्साहपूर्ण बनाउने आयोजकले जनाएको छ।
यो भेला युरोपका विभिन्न देशमा प्रारम्भिक संघर्ष गर्दै अन्ततः पोर्चुगलमा लामो समय बिताई त्यहाँको डकुमेन्ट प्राप्त गरेपछि यूके, नर्वे, बेल्जियम, डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड लगायतका देशहरूमा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको बृहत् पुनर्मिलन कार्यक्रम हो। एउटै संघर्ष, उस्तै सपना र समान अनुभव बोकेका नेपालीहरूलाई पुनः एउटै छानामुनि उभ्याउने यो अभियानले नेपाली पोर्चुगीस समुदायमा एउटा विशेष उत्साह थपेको छ।
कार्यक्रमको मुख्य उद्देश्य विगतमा एउटै संघर्षको यात्रामा सँगै हिँडेका नेपालीहरूबीच एकता, भाइचारा, सहकार्य, आत्मीयता र अनुभव आदान–प्रदानलाई अझ सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ। विदेशमा संघर्षका अनगिन्ती अध्याय पार गरेका नेपालीहरूका लागि यो कार्यक्रम केवल भेटघाट मात्र नभई सम्झना, सम्बन्ध र भावनाको उत्सव बन्ने अपेक्षा गरिएको छ।
सहभागीहरूको स्वादलाई मध्यनजर गर्दै कार्यक्रममा विभिन्न नेपाली मौलिक परिकारका खानाका स्टलहरू पनि रहनेछन्, जहाँ उपस्थितहरूले नेपाली स्वादसँगै आफ्नोपनको मिठास अनुभव गर्न सक्नेछन्।
मूल आयोजक समितिले अहिलेसम्म आफ्नो उपस्थिति सुनिश्चित नगरेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो ऐतिहासिक पुनर्मिलनमा सहभागी भई अविस्मरणीय क्षणको साक्षी बन्न हार्दिक आह्वान समेत गरेको छ। वर्षौंको संघर्ष, हजारौं सम्झना र एउटै पहिचानले जोडिएको नेपाली समुदाय एकै स्थानमा जुट्ने यस्तो अवसर विरलै आउँछ। त्यसैले यदि तपाई पनि कहिल्यै पोर्चुगलको यात्रा, संघर्ष र सम्झनासँग जोडिनुभएको छ भने यो कार्यक्रम छुटाउनु भनेको एउटा अविस्मरणीय पलको हिस्सा बन्ने अवसर गुमाउनु सरह हुनेछ ।
‘आउनुहोस्, अगस्ट ३ सोमबार वोल्भरह्याम्प्टनमा भेटौँ, पुराना साथीहरूसँग फेरि हातेमालो गरौँ, नयाँ सम्बन्ध जोडौँ र नेपाली एकताको अनुपम उत्सवलाई सँगै सफल बनाऔँ’ मूल आयोजक समितिको सबै समक्ष आग्रह छ।







