लन्डन । विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा एमबीई (निम्सदाइ)को ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेपालस्थित बेलायती दूतावासले दु:ख व्यक्त गरेको छ ।
शनिबार दूतावासले फेसबुकबाट सन्देश जारी गर्दै ब्रोड पिक अभियानका क्रममा ज्यान गुमाउने निर्मल पुर्जासहित सम्पूर्ण पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको हो । दूतावासले १६ वर्षसम्म बेलायती सशस्त्र बलमा सेवा गरेका निर्मल पुर्जाले विश्व पर्वतारोहणमा ऐतिहासिक कीर्तिमान कायम गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च बनाएको उल्लेख गरेको छ । साथै उनले ६ वर्ष बेलायती गोर्खा सैनिकका रूपमा तथा त्यसपछि १० वर्ष बेलायतको विशेष फौज (Special Boat Service–SBS) मा रहेर सेवा गरेको पनि सन्देशमा उल्लेख छ ।
उनको साहस, नेतृत्व क्षमता र असाधारण पर्वतारोहण उपलब्धिले विश्वभरका पर्वतारोही तथा युवापुस्तालाई प्रेरणा दिएको दूतावासको भनाइ छ । छोटो समयमै विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी उनले पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका थिए । बिहीबार हिमपहिरोमा परेका निम्सदाइसहित १० जनाको ज्यान गएको शनिबार पुष्टि भएको हो ।






