काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं प्रतिनिधिसभाकी पूर्वउपसभामुख इन्दिरा राना मगरले पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परेर ज्यान गुमाएका विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको मंगलबार ४ अगस्टको बैठकमा बोल्दै सांसद रानामगरले पुर्जाले आफ्नो साहसिक विश्वकीर्तिमानमार्फत नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताइन् । उनले पुर्जासहित ब्रोड पिकमा हिम पहिरोमा परी ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरिन् ।
उनले भनिन्,‘निर्मल पुर्जाले संसारभर नेपाललाई चिनाउन सफल हुनुभएको छ । त्यस्तो व्यक्तिलाई राज्यले राष्ट्रिय विभूतिको रूपमा लिनुपर्छ भन्ने कुराको माग गर्न चाहन्छु ।’
सांसद रानामगरले अगाडि भनिन्, ‘निम्सदाइको नामबाट आज उ युवाहरुको धकडन बनेको छ । हजारौं हजार संसारभरिका मानिसहरु आज भावुक बनेका छन् । नेपालमा जन्मेर । नेपालबाट लाहुरे भएर गएर । लाहुरे जागिर छोडेर फन्ड रेज गरेर हिमाल चढ्नुभन्दा दुई महिनाअगाडि मैले लन्डनमा भेटेको थिएँ । दुई मिनेट बोल्न पनि उनले फुर्सद पाइरहेका थिएनन् ।,’
गत बिहीबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो ।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ ।






