लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महत बेलायत आइपुगेका छन् ।
तनहुँ समाज यूकेको यही अगस्ट ८ मा हुने १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रमका लागि मंगलबार ४ अगस्टमा लोकगायक महत लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएका हुन् । लोकगायक महतको स्वागतका लागि तनहुँ समाज यूकेका वरिष्ठ सल्लाहकार मेजर कुलबहादुर थापा, महासचिव महेन्द्र आले, कोषाध्यक्ष लेख राना, कृष्ण (किसान) आले, शुक्र श्रेष्ठलगायत हिथ्रो एयरपोर्ट पुगेका थिए ।
गायक महतले एयरपोर्टमा स्वागतप्रति आभार व्यक्त गर्दै कार्यक्रममा भेट्ने आश व्यक्त गर्का छन् । ‘आज बेलायतमा तनहुँ समाज यूकेका पदाधिकारीहरू मेरा गाउँले साथीभाइहरूको स्वागतप्रति ज्यादै आभारी छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘यही अगस्ट ८ तारिख शनिबारका दिन तनहुँ समाज यूकेको आयोजनामा हुन गइरहेको तनहुँ भेला पिकनिकमा सहभागी हुन आएको मौका संयोगमा लन्डनको हिथ्रो एयरपोर्टमा रिसिभ गर्न आउनुहुने समाजका वरिष्ठ सल्लाहकार मेजर कुलबहादुर थापाजी, महासचिव महेन्द्र आले भाइ, कोषाध्यक्ष लेख राना भाइ, कृष्ण (किसान) आले भाइ र मेरा प्रिय साथी शुक्र श्रेष्ठजीलाई हार्दिक हार्दिक धन्यवाद । सबै सबै ईष्टमित्रहरूलाई अल्डरसटमा भेट्ने आशा गर्दछु। ‘
बेलायतमा क्रियाशील सामाजिक संस्था तनहुँ समाज यूके कार्यक्रम अल्डरशटस्थित अल्डरवुड लिजर सेन्टरमा दिउँसो १२ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ। उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महतका अलावा कौरा गीतका लोकप्रिय कलाकार दुर्गा गुरुङ (कौरा किङ) तथा लोकदोहोरी गायिकाहरु शर्मिला गुरुङ ‘सरु’ र रूपी सिंजाली मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
साथै तनहुँको मौलिक लाइभ कौरा तथा चुड्का नृत्य, स्थानीय कलाकारहरू दिपु गुरुङ, मनसुधन थापा, पवन राना, प्रकाश समाल, चारघरे चेली समूह,सविता राना (नाना), जुनु थापा, याशिका थापा, माया मगर,सुरक्षा मगर, प्रतिमा आले, अर्चिता गौतम, सम्पदा राई, रोनिशा आले, गुराँस राना, सुनगाभा राना र तनहुँको विविध क्षेत्रीय तथा भेगीय समाजहरूको बेजोड प्रस्तुति रहने समाजका महासचिव महेन्द्रले बताए ।
अतिरिक्त कार्यक्रममा राफल ड्र, नेपाली परिकारको स्वाद, शैक्षिक उपलब्धि हासिल गरेका बालबालिका, नयाँ आजीवन सदस्यहरु तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिनेछ।
प्रवेश शुल्क वयस्कका लागि २५ पाउन्ड, ज्येष्ठ नागरिक तथा ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि २० पाउन्ड तोकिएको छ भने ६ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
तनहुँ समाज यूकेका अध्यक्ष गुरुङ र महासचिव आलेले संस्थाको तर्फबाट बेलायतमा रहेका सम्पूर्ण तनहुँवासी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई आफ्नै कला, संस्कृति, भाषा र स्वादसँग रमाउन आग्रह गरेका छन् ।






