मेरो बाल्यकाल लमजुङ जिल्लाको तत्कालीन पाचोक गाउँ विकास समिति-५, फोर्जुङ (हाल दोर्दी गाउँपालिका-५, पाचोक, फोर्जुङ)को प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त र आत्मीय वातावरणमा बित्यो । बाल्यकालदेखि नै पढाइप्रति मेरो विशेष रुचि थियो । विद्यालयबाट फर्किएपछि पुस्तकहरू मेरा असल साथी बन्थे । फुर्सदको समयमा फुटबल खेल्नु, लेखहरू लेख्नु तथा विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूमा उद्घोषण (एङ्करिङ) गर्नु मेरा प्रिय रुचिहरू थिए ।
गाउँ टोलमा आयोजना हुने प्राय: सबै कार्यक्रमहरूमा म उत्साहका साथ सहभागी हुन्थेँ, र धेरैजसो कार्यक्रममा उद्घोषकको जिम्मेवारी पनि मैले नै निर्वाह गर्ने अवसर पाउँथेँ । ती अनुभवहरूले मेरो आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार अभिव्यक्त गर्ने कला विकास गर्न महत्त्वपूर्ण भूमिका खेले । परिवारको स्नेह, गुरुजनको प्रेरणा र गाउँको सरल तथा अनुशासित वातावरणले मलाई मिहिनेती, इमानदार र लक्ष्यप्रति दृढ बन्न सिकायो । जीवनमा जस्तोसुकै चुनौती आए पनि हार नमान्ने बानी त्यही परिवेशबाट मैले सिकेको अमूल्य पाठ हो ।
मेरो शैक्षिक यात्रा गाउँकै विद्यालयबाट सुरु भयो । प्राथमिक तह पूरा गरेपछि पाचोक सेकेन्डरी स्कुलमा निम्न माध्यमिक तह अध्ययन गरेँ र त्यसपछि लक्ष्मी माध्यमिक विद्यालय, श्रीमन्जङमा भर्ना भएँ । वि.सं. २०७० सालमा त्यही विद्यालयबाट उत्कृष्ट नतिजासहित एसएलसी(हाल एसईई) उत्तीर्ण गरेँ । विद्यालय जीवनभर प्रायः प्रत्येक कक्षामा प्रथम हुने अवसर प्राप्त भयो ।
एसएलसी उत्तीर्ण गरेपछि मनमा एउटा ठूलो सपना थियो डाक्टर वा इन्जिनियर बन्ने । यही सपना बोकेर म काठमाडौं पुगेँ। बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा विज्ञान संकाय विषय अध्ययन सुरु गरेँ। अध्ययनका क्रममा मेरो रुचि क्रमश: फिजिक्स (भौतिकशास्त्र) तर्फ गहिरिँदै गयो । यही रुचिले अन्ततः भविष्यमा सिभिल इन्जिनियर बन्ने स्पष्ट लक्ष्य निर्धारण गर्न प्रेरित गर्यो ।
त्यही समयमा मेरो मनमा अर्को सपना पनि पलाइरहेको थियो । मलाई विश्वास थियो कि सकारात्मक विचार र प्रेरणादायी शब्दहरूले मानिसको जीवन परिवर्तन गर्न सक्छन् । यही विश्वासका साथ मैले एउटा उत्प्रेरणात्मक पुस्तक लेख्ने निर्णय गरेँ । अध्ययनसँगै समय व्यवस्थापन गर्दै निरन्तर लेखनमा समर्पित रहें। अन्ततः वि.सं. २०७३ सालमा मेरो पहिलो उत्प्रेरणात्मक पुस्तक प्रकाशित भयो। आफ्नै पुस्तक पाठकको हातमा पुगेको देख्नु मेरो जीवनको अत्यन्तै भावुक र अविस्मरणीय क्षण थियो । त्यस सफलताले मेरो आत्मविश्वासलाई अझ बलियो बनायो र कुनै पनि सपना निरन्तर प्रयासद्वारा साकार बनाउन सकिन्छ भन्ने विश्वासलाई अझ दृढ बनायो ।
त्यसपछि मैले एक्मी इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ अध्ययनका लागि भर्ना भएँ । इन्जिनियरिङको यात्रा चुनौतीपूर्ण थियो । दिन-रातको निरन्तर अध्ययन, कठिन अभ्यास, प्रयोगात्मक सिकाइ र गुरुहरूको अमूल्य मार्गदर्शनका कारण वि.सं.२०७७ सालमा उत्कृष्ट नतिजासहित सिभिल इन्जिनियरिङ उत्तीर्ण गरे । त्यो उपलब्धि केवल एउटा शैक्षिक प्रमाणपत्र थिएन; त्यो वर्षौंको परिश्रम, धैर्य र आत्मविश्वासको प्रतिफल थियो ।
इन्जिनियरिङ अध्ययन सम्पन्न गरेलगत्तै २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनामा करिब चार वर्ष कार्य गर्ने अवसर प्राप्त गरेँ । आयोजना निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरण तथा हस्तान्तरणसम्म प्रत्यक्ष रूपमा संलग्न हुन पाउनु मेरो व्यावसायिक जीवनको अमूल्य अनुभव बन्यो । कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई वास्तविक परियोजनामा व्यवहारमा उतार्दै काम गर्दा मैले व्यावसायिक दक्षता, आत्मविश्वास र जिम्मेवारीबोधलाई अझ सुदृढ बनाउन सकें । एउटा इन्जिनियरका रूपमा आफ्नै देशको विकासमा योगदान दिन पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सन्तुष्टिमध्ये एक हो ।
आयोजना सम्पन्न भएपछि मेरो मनमा अन्तर्राष्ट्रियस्तरको ज्ञान र अनुभव हासिल गर्ने इच्छा अझ प्रबल बन्यो। त्यसै उद्देश्यका साथ म बेलायत पुगेँ । त्यहाँको एक प्रतिष्ठित विश्वविद्यालयबाट मास्टर अफ साइन्स इन म्यानेजमेन्ट विथ प्रोजेक्ट म्यानेजमेन्ट उपाधि हासिल गरेँ । यस अध्ययनले परियोजना व्यवस्थापन, नेतृत्व, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय व्यावसायिक अभ्यासप्रतिको मेरो दृष्टिकोणलाई अझ फराकिलो बनायो। विभिन्न देशका विद्यार्थीहरूसँग अध्ययन गर्ने अवसरले विश्वलाई नयाँ दृष्टिले बुझ्ने क्षमता पनि विकास गरायो ।
आज म सिभिल इन्जिनियर, लेखक र आजीवन विद्यार्थीका रूपमा निरन्तर सिक्ने यात्रामा छु । मेरो विश्वास छ कि ज्ञानको कुनै अन्त्य हुँदैन, र प्रत्येक अनुभवले मानिसलाई अझ परिपक्व बनाउँछ ।
भविष्यमा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास, प्रभावकारी परियोजना
व्यवस्थापन, अनुसन्धान तथा युवा पुस्तालाई प्रेरित गर्ने कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने मेरो दृढ लक्ष्य रहेको छ ।
“म विश्वास गर्छु सफलता गन्तव्यमा पुग्नु मात्र होइन, आफूले तय गरेको यात्राबाट अरूलाई पनि उज्यालो बाटो देखाउन सक्नु नै जीवनको वास्तविक उपलब्धि हो ।”






