शेष घले दम्पतीद्वारा बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख बजेट प्रतिबद्धता

SHARE:

लन्डन । नेपाली मूलका अष्ट्रेलियन व्यवसायी एवं समाजसेवी शेष घले दम्पतीले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता गरेका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी)सँग समझदारी पत्रमा हस्ताक्षर गर्दै शेष घलेले आफू नेतृत्वको एमआईटी ग्रुप फाउन्डेसनबाट कक्षा १२ सम्म अध्ययनरत बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकाहरूलाई सहयोग गर्न ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन परियोजना बजेट प्रतिबद्धता जनाएका हुन् । उक्त रकमबाट प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य आवश्यक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।

शुक्रबार घलेले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘यी बालबालिकाहरू र उनीहरूका परिवारले भोगेको पीडाबाट म र मेरी श्रीमती अत्यन्तै मर्माहत भएका छौं। उनीहरूलाई यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि सहयोग गर्न सक्षम भएकोमा हामी भाग्यमानी महसुस गर्छौं, ताकि उनीहरूले आफ्नो शिक्षा जारी राख्न सकून्, उनीहरूका आधारभूत आवश्यकताहरू पूरा होऊन् र उनीहरूले आशाका साथ भविष्यतर्फ हेर्न सकून्।’

‘हाम्रो लागि, यो केवल आर्थिक सहयोगभन्दा धेरै माथि हो। यो यी बालबालिकाहरू हुर्कंदै जाँदा उनीहरूलाई साथ दिने र उनीहरूले भोगेको कठिनाइले उनीहरूका जीवनका अवसरहरूलाई असर नगरोस् भनी सुनिश्चित गर्न गरिएको एक दीर्घकालीन प्रतिबद्धता हो,’ डा. घलेले उल्लेख गरेका छन्, ‘सबैभन्दा बढी, हामी उनीहरू एक्लो छैनन् र उनीहरूलाई बिर्सिएको छैन भन्ने महसुस गराउन चाहन्छौं ।’

फाउन्डेसनले भोटेकोशी बाढीका कारण आमा वा बुबामध्ये एक वा दुवै गुमाएका ११० जना बालबालिकाको कक्षा १२ सम्मको शिक्षा तथा सर्वाङ्गीण विकासका लागि दीर्घकालीन सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो । तत्काल राहत वितरण गरेर मात्र विपद्को असर समाप्त नहुने भन्दै फाउन्डेसनले प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्ने उद्देश्यले शिक्षा केन्द्रित कार्यक्रम अघि सारेको जनाएको छ। प्रारम्भिक चरणमा रसुवा जिल्लाका अत्यन्तै आर्थिक विपन्नता भोगिरहेका बाढीपीडित बालबालिकालाई प्राथमिकतामा राखिनेछ।

वास्तविक पीडित बालबालिकाको पहिचान तथा प्रमाणीकरण, दोहोरो सुविधा नियन्त्रण र विद्यालय भर्नाको समन्वय भने स्थानीय तथा सरकारी निकायमार्फत गरिने फाउन्डेसनको भनाइ छ। फाउन्डेसनले यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोगको अपीलसमेत गरेको छ। विपद्पछि राहतका लागि तत्काल सहयोग जुटाउने क्रमसँगै पीडित बालबालिकालाई शिक्षित, सक्षम र आत्मनिर्भर बनाउने दीर्घकालीन अभियानमा हातेमालो गर्न सबै पक्षलाई आह्वान गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!