काठमाडौं । बालआश्रमको सहयोगार्थ आगामी भदौ १२ मा ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’ हुने भएको छ ।
रोधीं डिजिटलको आयोजनामा लोकप्रिय गायिका दुर्गा गुरुङको साङ्गीतिक साँझ हुन लागेको हो । कार्यक्रम काठमाडौंको मित्रनगरमा दिउँसो २ बजेदेखि हुने छ ।
तनहुँको भानु नगरपालिका-७मा स्थानीयद्वारा सञ्चालित चण्डिका बालआश्रमको सहयोगार्थ सांगीतिक साँझ गर्न लागेको गायिका दुर्गा गुरुङले एभरेष्ट टाइम्स यूकेसँग जानकारी दिएकी छन् ।
‘अहिलेको परिवेशमा उत्छृंखल दोहोरी गीतहरु, तीजको नाममा रत्यौलीका गीतहरु हेरिराख्नुभएको छ, मनोरन्जन लिइराख्नुभएको छ दर्शक, स्रोताले । मौलिकता हाम्रो यस्तो हुन्छ भन्ने सन्देश दिनु हाम्रो कार्यक्रमको उद्देश्य हो,’ गायिका गुरुङले भनिन्, ‘टिकेट सिस्टम नगरी सबैलाई समेटेर वा सबैलाई कार्यक्रममा आउने वातावरण बनाएर गीतसंगीत यस्तो हुनुपर्ने रहेछ भन्ने सन्देश दिन मन लागेर कार्यक्रम गर्दैछौं ।’
स्याङ्जामा जन्मिएकी गायिका दुर्गा गुरुङ वि.स. २०५३ सालमा रेडियो नेपालमा भ्वइस टेस्ट पास गरेपछि निरन्तर गीतसंगीतमा सक्रिय छिन् । लोक, दोहोरी, सांस्कृतिक गीत गाउनु उनको परिचय हो । उनले रामरानी र पातें (माइली) गुरुङ भाषाको चलचित्रको गीतमा पनि स्वर दिएकी छन् । त्यस्तै ‘देउराली भञ्ज्याङ’ (कौडा), स्याउली पलाएछ’ (लोकगीत), ‘घर कहाँ हो मायालु’, झोरा, सोरठी, ‘तीज आयो माइतीको आँगनमा..’, ‘झलझली सम्झौली आमा’, ‘चेलीको कर्म’, ‘माइतीको माया’, ‘रातो साडी लर्काएर’ लगायत दर्जनौं सिर्जना पस्किसकेकी छन् ।
आजीवन गीतसंगीतमा लागेन अठोट लिएकी गायिका दुर्गा गुरुङले बेलायत, कतार, हङकङ, जापान, यूरोप, अमेरिकामा सांस्कृतिक भ्रमण गरिसकेकी छन् ।
३३ वर्षदेखि सांगीतिक कर्ममा रहेकी गायिका गुरुङ सोरठी, घाँटु, झोरा, कौडा, सालैजो, देउडा, तामाङ सेलोलगायत विधाका गीत गाउन रुचि राख्छिन् । गायिका दुर्गाले तीन वर्षअघि एकल साँझसमेत गरेकी थिइन् ।
सांगीतिक साझँमा आफ्ना १२ वटा गीतहरु प्रस्तुत गर्ने उनको तयारी छ । डान्समा तीनवटा गीत समेटिने छ । उनका अनुसार ‘स्याङ्जाडाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’, गुरुङ गीत ‘ङिला रोधिरी’, ‘रामरानी ङोल्स्यो’, ‘दाइ त मेरो लाहुरे जाने’लगायत सालैजो, कौडाजस्ता मौलिक गीत हरु सांगीतिक साँझमा गुन्जिने छन् ।
दुर्गा तमु कलाकार संघ नेपालको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष हुन् भने अहिले केन्द्रीय महिला सचिवको जिम्मेवारीमा रहेकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्यको रुपमा पनि छन् ।






