लन्डन । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा ‘निम्सदाइ’ का दाजु कमलबहादुर पुर्जाले अकल्पनीय शोकमा रहेका बालबालिका तथा निकट परिवारजनको गोपनीयता र संवेदनशील अवस्थाको सम्मान गरिदिन अनुरोध गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत पुर्जाले विशेषगरी अकल्पनीय शोकमा रहेका बालबालिका तथा निकट परिवारजनको गोपनीयता र संवेदनशील अवस्थाको सम्मान गरिदिन सबैसँग आग्रह गरेका हुन्। पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूको पार्थिव शरीर स्वदेश तथा घर परिवारमाझ ल्याउने क्रम चलिरहेका बेला पुर्जाले संयमता अपनाइदिन सबैसँग अपिल गरेका हुन् । उनले अत्यन्त कठिन घडीमा सबैले दया, सहानुभूति र समझदारीका साथ साथ दिन आग्रह गरेका छन्।
उनले धेरैले प्रत्यक्ष श्रद्धाञ्जली अर्पण गर्न र प्रार्थना गर्न चाहेकोप्रति परिवार कृतज्ञ रहेको जनाउँदै सबैलाई भेट्न वा अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी गराउन सधैं सम्भव नहुने बताएका छन्। परिवारको पहिलो प्राथमिकता आफ्ना प्रियजन, विशेषगरी बालबालिका र निकट आफन्तको भावनात्मक अवस्था तथा गोपनीयताको संरक्षण रहेको उल्लेख गर्दै त्यसको सम्मान गरिदिन उनले अनुरोध गरेका छन्।
कमलबहादुरले संसारभरबाट आयोजना गरिएका श्रद्धाञ्जली सभा, प्रार्थना कार्यक्रम तथा विभिन्न सम्मानप्रति पनि परिवारको तर्फबाट आभार व्यक्त गरेका छन्। प्रत्यक्ष उपस्थित हुन नसक्नेहरूले आफ्नै घर, समुदाय वा पूजा स्थलबाट प्रार्थना गरे पनि त्यो उत्तिकै अर्थपूर्ण हुने उनले बताएका छन्।
निर्मल ‘निम्सदाइ’ पुर्जा तथा परिवारको तर्फबाट अन्तिम श्रद्धाञ्जली कार्यक्रमको समय र स्थान निश्चित हुनेबित्तिकै जानकारी सार्वजनिक गरिने पनि सन्देशमा उल्लेख गरेका छन् ।






