लन्डन । इन्जिनियर रेजिमेन्ट तथा क्विन्स गोर्खा इन्जिनियर्स (क्यूजीई)ले विश्वप्रसिद्ध पर्वतारोही, पूर्वब्रिटिस गोर्खा सैनिक तथा साहसिक अभियन्ता निर्मल पुर्जा एमबीई ‘निम्स दाइ’को स्मृतिमा श्रद्धाञ्जलिसभा सम्पन्न गरेको छ ।
इन्भिक्टा पार्क ब्यारेक्स, मेडस्टोनमा ५ अगस्ट २०२६ श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो । स्मृति परेडको नेतृत्व गोर्खा मेजर खड्काबहादुर गुरुङले गरेका थिए ।
कार्यक्रममा पण्डितजी, प्रेम गैरे, क्याप्टेन सुमन घले (इन्टेक २००३) ले निम्स दाइको जीवन, योगदान र प्रेरणादायी व्यक्तित्वबारे भावपूर्ण श्रद्धाञ्जली मन्तव्य प्रस्तुत गरे । त्यसैगरी, क्विन्स गोर्खा इन्जिनियर्सका पाइपर स्यापर आदित्यले विशेष धुन बजाएर श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा क्विन्स गोर्खा इन्जिनियर्सका कमान्डेन्ट, गोर्खा मेजर तथा रेजिमेन्टल सार्जेन्ट मेजरले रेजिमेन्टल खादा अर्पण गर्दै दीप प्रज्वलन गरी निम्स दाइप्रति सम्मान व्यक्त गरे। उनलाई एक असाधारण सैनिक, पर्वतारोही र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको थियो ।
वक्ताहरूले निम्स दाइको साहस, निःस्वार्थ सेवा, नेतृत्व क्षमता तथा विश्व कीर्तिमानी पर्वतारोहण उपलब्धिहरूले गोर्खा पल्टन, गोर्खा परिवार र ब्रिटिस सेनाको प्रतिष्ठा विश्वभर उच्च बनाएको उल्लेख गरे। उनको दृढ संकल्प, विनम्रता र ‘असम्भवलाई सम्भव बनाउने’ सोचले भावी पुस्तालाई निरन्तर प्रेरणा दिइरहने विश्वास पनि व्यक्त गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले निम्स दाइको योगदानप्रति सम्मान व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गरे ।
निम्सदाइसहित ६ नेपाली र ४ विदेशीले पाकिस्तानको ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका थिए । गत बिहीबार विश्वको १२ औं अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोमा उनीहरुको मृत्यु भएको हो । नेपाली आरोही पुरबहादुर गुरुङ युक्तको बिहीबार नेपाली पुर्याएर शुक्रबार स्वयम्भूमा अन्तिम संस्कार गरिएको छ ।











