काठमाडौँ । नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ ।
प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसमा आधारमा प्रधानमन्त्री वालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा शुक्रबार यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार नियुक्त भएकामा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी (सिन्धुली), उपकुलपतिमा अविनाश श्रेष्ठ (पर्वत) तथा सदस्य–सचिवमा रोशन शेरचन (रुपन्देही) नियुक्त हुनुभएको छ । त्यसैगरी परिषद् सदस्यमा प्रतिसरा मानन्धर (काठमाडौँ), कृष्णराज चौधरी (दाङ), सीता सुब्बा (तेह्रथुम), तीर्थबहादुर गुरुङ (कास्की), रूपा कुमारी (सिराहा), नवीन नेपाली (दाङ), दीपक सापकोटा (काभ्रे) र दुर्गाबहादुर घर्ती (सुर्खेत) छन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिणा ताम्राकार (ललितपुर), उपकुलपतिमा चन्द्रश्याम डङ्गोल (ललितपुर) तथा ) सदस्यसचिवमा कैलाशकुमार श्रेष्ठ (दोलखा नियुक्त भएका छन् । परिषद् सदस्यमा जुपिटर प्रधान (काठमाडौँ), कुबिर देवान (झापा), सङ्गी श्रेष्ठ (ललितपुर), ध्रुवराज शर्मा (बाँके), ओमप्रकाश यादव (सिरहा) र वीणा पौड्याल (ललितपुर) नियुक्त भएका छन् ।
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रजेश खनाल (काठमाडौँ), उपकुलपतिमा झुमा बनेम (ताप्लेजुङ) तथा )–सदस्यसचिवमा भुपेन्द्रसिंह रायमाझी (मोरङ नियुक्त भएका छन् । परिषद् सदस्यमा छेन्दोक हाङ राई (झापा), जीतबहादुर देउजा (भक्तपुर), सुबिमा श्रेष्ठ (ललितपुर), सरस्वती चौधरी (बर्दिया), राजन मुकारुङ (भोजपुर) र रेखाशाह गुरुङ (धादिङ) नियुक्त भएका छन् ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिमा यही साउन २० गते प्रधानमन्त्री एवं प्रमुख संरक्षक शाहले ती नियुक्ति गरेको जनाइएको छ । संस्कृतिमन्त्री एवं संरक्षक खडक राज पौडेल (गनेस)को संयोजकत्वमा रहेका अलगअलग समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो ।






