पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले विदेशमा रहेका नेपालीलाई नागरिकता दिएर नेपाल फर्काए मात्रै देश विकास हुने बताएकी छन् ।
कास्कीको पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा शनिबार आयोजित क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् । ‘बाहिर बसेका नेपालीहरुलाई सरकारले न्याय दिइरहेको छैन । हजुरहरु प्रशासन अथवा सरकारको माथिल्लो तहमा हुनुहुन्छ । तपाईंहरुले कुनै दिन पार्लियामेन्टमा बोल्नुहुन्छ भने मेरो रिक्वेस्ट, राईट मान्छेलाई भनिदिनुस् विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकता दिएर नेपाल फर्काउनुस् अनि मात्रै हाम्रो देश विकास हुन्छ,’ उनले भनिन् ।
पुनमको जन्मगाउँमा उनी स्वयम् अध्यक्ष रहेको दिदीबहिनी एकता फाउन्डेसन नेपालले पहिलो कार्यक्रम गरेको हो । शिविरका लागि मौजा विजयपुर समाज यूकेको सहयोग र चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा–८को सहकार्य थियो । बेलायतमा सामाजिक काममा सक्रिय रहँदै आएकी पुनम गुरुङले बुबा नेपाली सेनाका पूर्वकर्णेल मनिन्द्र गुरुङको सुझाव र सल्लाहअनुसार नेपालमा सहयोग पुर्याउन फाउन्डेशन स्थापना गरेको प्रस्ट पारिन् । तमु धीं यूके आमा समूहका संस्थापक अध्यक्षसमेत रहेकी पुनम सम्बोधनका क्रममा बुबालाई सम्झेर रोएकी थिइन् । मनिन्द्रको ७८ वर्षको उमेरमा गत वर्षको १५ अगस्टमा निधन भएको थियो ।






