नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूले पार्टीका जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।
पार्टीको पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्ष गीता मिजार, उपाध्यक्ष शंकर थापा, सचिव जयराम थापालगायत गाउँपालिका तथा वडा कमिटीका पदाधिकारी र सदस्यहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा उनीहरूले लामो समयदेखि राप्रपामा रहेर विभिन्न जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरेका छन् । तर, वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएको कार्यशैली, वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति, गुटबन्दी तथा नेतृत्वपंक्तिले एउटै विचार, सिद्धान्त र एजेन्डालाई गोलबन्द गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘पार्टीभित्र विभिन्न किसिमका वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति, गुटबन्दी, नेतृत्वपंक्तिले एउटै विचार, सिद्धान्त तथा एजेन्डा भए पनि गोलबन्द गर्न नसक्नु तथा सांगठनिक जीवनमा हाम्रा सैद्धान्तिक र व्यावहारिक मतभिन्नताहरू रहेकाले’ पार्टीसँगको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले देश र जनताको राजनीतिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक पक्षमा आफ्नो भूमिका निर्वाह गर्दै आगामी दिनमा विभिन्न सामाजिक कार्यमा घुलमिल हुने र मोर्चामा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विज्ञप्तिमा राप्रपामा रहँदा आफूहरूलाई साथ, सहयोग, माया, ममता, प्रेम र सद्भावसहित मार्गदर्शन गर्ने पार्टीका सम्पूर्ण आदरणीय व्यक्तित्वप्रति आभार व्यक्त गरिएको छ ।
गाउँपालिका कमिटीसँगै वडा नम्बर १ देखि ५ सम्मका पदाधिकारी तथा सदस्यहरूको नामसमेत विज्ञप्तिमा उल्लेख छ । केही सदस्यले हस्तलिखित रूपमा समेत हस्ताक्षर गरेका छन्।







