लन्डन । आगामी भदौ १२ मा हुने दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’का लागि अमेरिका निवासी अभिनेत्री एन्सर्ज गुरुङले ५१ हजार रुपैयाँ सहयोग गरेकी छन् ।
रोधीं डिजिटलको आयोजनामा हुने एकल साँझ व्यवस्थापनका लागि चलचित्र निर्मातासमेत रहेकी एन्सर्जले सहयोग रकम पठाएको बुधबार जानकारी दिइएको हो । आर्थिक सहयोग गरेकी नायिका गुरुङलाई आयोजकले धन्यवाद ज्ञापन गरेका छन् ।
लोकप्रिय गायिका दुर्गा गुरुङको साङ्गीतिक साँझ कार्यक्रम काठमाडौंको मित्रनगरमा दिउँसो २ बजेदेखि हुने छ ।
तनहुँको भानु नगरपालिका-७मा स्थानीयद्वारा सञ्चालित चण्डिका बालआश्रमको सहयोगार्थ सांगीतिक साँझ गर्न लागेको गायिका दुर्गा गुरुङले एभरेष्ट टाइम्स यूकेसँग जानकारी दिएकी छन् ।
स्याङ्जामा जन्मिएकी गायिका दुर्गा गुरुङ वि.स. २०५३ सालमा रेडियो नेपालमा भ्वइस टेस्ट पास गरेपछि निरन्तर गीतसंगीतमा सक्रिय छिन् । लोक, दोहोरी, सांस्कृतिक गीत गाउनु उनको परिचय हो । उनले रामरानी र पातें (माइली) गुरुङ भाषाको चलचित्रको गीतमा पनि स्वर दिएकी छन् । त्यस्तै ‘देउराली भञ्ज्याङ’ (कौडा), स्याउली पलाएछ’ (लोकगीत), ‘घर कहाँ हो मायालु’, झोरा, सोरठी, ‘तीज आयो माइतीको आँगनमा..’, ‘झलझली सम्झौली आमा’, ‘चेलीको कर्म’, ‘माइतीको माया’, ‘रातो साडी लर्काएर’ लगायत दर्जनौं सिर्जना पस्किसकेकी छन् ।
आजीवन गीतसंगीतमा लागेन अठोट लिएकी गायिका दुर्गा गुरुङले बेलायत, कतार, हङकङ, जापान, यूरोप, अमेरिकामा सांस्कृतिक भ्रमण गरिसकेकी छन् । ३३ वर्षदेखि सांगीतिक कर्ममा रहेकी गायिका गुरुङ सोरठी, घाँटु, झोरा, कौडा, सालैजो, देउडा, तामाङ सेलोलगायत विधाका गीत गाउन रुचि राख्छिन् । गायिका दुर्गाले तीन वर्षअघि एकल साँझसमेत गरेकी थिइन् ।
सांगीतिक साझँमा आफ्ना १२ वटा गीतहरु प्रस्तुत गर्ने उनको तयारी छ । डान्समा तीनवटा गीत समेटिने छ । उनका अनुसार ‘स्याङ्जाडाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ’, गुरुङ गीत ‘ङिला रोधिरी’, ‘रामरानी ङोल्स्यो’, ‘दाइ त मेरो लाहुरे जाने’लगायत सालैजो, कौडाजस्ता मौलिक गीत हरु सांगीतिक साँझमा गुन्जिने छन् ।
दुर्गा तमु कलाकार संघ नेपालको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष हुन् भने अहिले केन्द्रीय महिला सचिवको जिम्मेवारीमा रहेकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्यको रुपमा पनि छन् ।






