घलेभन्ज्याङ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा दुई वटा मोटरसाइकल ठोक्किँदा पञ्चकन्या-४ का वडाध्यक्ष सञ्च तामाङसहित ३ जना घाइते भएका छन् ।
काठमाडौं जाँदै गरेको वडाध्यक्ष सवार बागमती प्रदेश ०२-००१ ब ५२८३ सरकारी नम्बर प्लेटको मोटरसाइकल र नेपानेबाट शेरबगरतर्फ गइरहेको प्रदेश ३-०२-००१ प १५६५ निजी मोटरसाइकल बिहान सवा ११ बजेतिर शेराबगर नजिक ठोक्किएको हो । दुर्घटनामा ६२ वर्षीय वडाध्यक्ष तामाङको दायाँ खुट्टा भाचिएको छ । उनकी नातिनी ४ वर्षीया शर्मिला तामाङ र विपरीत दिशाका मोटरसाइकल चालक २२ वर्षीय सरोज थापा सामान्य घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई शिवपुरी आधारभूत अस्पतालमा प्राथमिक उपचारपश्चात् काठमाडौं राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । घाइते मोटरसाइकल चालक थापा प्रहरीको नियन्त्रणमा रहेको छ ।
मोटरसाइकल लेनक्रसका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।






