काठमाडौं । मगर समुदायको बस्तीमा पहिरो जाँदा रोल्पामा कम्तीमा ५ को मृत्यु, ८ जना बेपत्ता भएका छन् ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार मृतक र बेपत्ताहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा थबाङ-५ की १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
यस्तै दुई जना घाइते रहेका छन् । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार पहिरोमा परी ८ जना बेपत्ता रहेका छन् । उनीहरुको पनि पहिचान खुलेको छ ।
थबाङ ५ कै कमल पुनमगरकी छोरी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर र ७५ वर्षीय डलबहादुर पुनमगर बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पनि बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ ।






