काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ । घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी रोल्पामै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर छन् ।
पहिरोमा परी बेपत्ता भएकामध्ये पाँच जनाको शव प्युठानमा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूमा ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनि पुन मगर, ३४ वर्षीया विष्णु पुन भन्ने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर छन् ।
घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् ।
पहिरोमा परी थबाङ–५ का ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





