कोमल मल्ल
काठमाडौँ । विगत तीन दशकदेखि रेडियो नेपालको वरिष्ठ समाचार वाचक रही नेपाली भाषा साहित्य सञ्चार र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याएका वरिष्ठ पत्रकार हरिशरण लामिछाने एनएलडिसी साहित्य-सञ्चार पदक पुरस्कारद्वारा सम्मानित भएका छन् ।
काठमाडौँ बालुवाटारस्थित परिषद् कक्षमा आयोजित समारोहमा परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुली र परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहबाट संयुक्तरूपमा वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेलाई पुरस्कार पदक तथा प्रमाणपत्र सुशोभन गरिएको थियो ।
समारोहलाई प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले पुरस्कार र पुरस्कृत व्यक्तित्वको बारेमा प्रकाश पार्दै परिषद्का साहित्यक गतिविधिहरूमा वरिष्ठ पत्रकार हरिशरण लामिछानेले परिषद्को महासचिवको भूमिकामा होस् वा सल्लाहकार होस् वा एउटा सर्जक अथवा जनसमाजलाई सुसूचित गर्ने रेडियो नेपालको पत्रकारिता जीवनमा नेपाली भाषा साहित्य र सञ्चार समृद्ध गर्ने कार्यमा निरन्तर सराहनीय योगदान पुर्याउँदै आएको चर्चा गरे । बेलायतमा रेडियो पत्रकारिताको उच्च शिक्षा अध्ययनको क्रममा रहँदा पनि लामिछानेले लन्डनमा सन् १९९५ मा नै एभरेष्ट नेपाली रेडियो स्थापना गरेर नेपाली समाचार र साहित्यको प्रसारण आरम्भ गरेको स्मरणदै संस्थापक शाहले स्मरण गरे ।
नेपाली भाषा साहित्य कला र पत्रकारिताको फाँटमा उदाहरणीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई हरेक वर्ष नेपाली साहित्य विकास परिषद् यूकेद्वारा पुरस्कृत गरिने एनएलडिसी नेपाली साहित्य-सञ्चार पुरस्कार यस वर्ष लामिछानेलाई पुरस्कृत गर्न पाउँदा गौरव लागेको उनको भनाइ थियो ।
सभापतिको आसनबाट सम्बबोधन गर्दै परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष इल्या भट्टराईले रेडियो नेपाल जस्तो देशको गौरवी सञ्चार संस्थामा रही नेपाली भाषा साहित्य र समाचार संप्रेषणका फाँटमा अनुकरणीय योगदान पुर् याउनुका साथै यस परिषद्मा समेत आबद्ध रहेर सक्रिय रहेका वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई यो विशिष्ट पुरस्कार पदकबाट सम्मानित गर्न पाउँदा गर्वानुभूति भएको बताए ।

यसैगरी परिषद्का प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि गोपाल पराजुलीले रेडियो नेपालको व्यस्त समयका बाबजुद पनि यस परिषद्मा संस्थापनाकालदेखि आबद्ध रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा वरिष्ठ पत्रकार यस परिषद्का सल्लाहकार हरिशरण लामिछानेले अविछिन्नरूपमा पुर्याएको पुरस्कार योग्य योगदान महत्त्वपूर्ण र गर्विलो रहेको भन्दै परिषद्बाट यो सम्मान समर्पण गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
पुरस्कार सम्मान ग्रहण गर्दै वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेले पुरस्कारहरूबाट टाढा नै रहने आफ्नो बानी भए तापनि नेपाली साहित्य विकास परिषद् यूकेसँग आफू त्यहाँ रेडियो पत्रकारिता अध्ययनमा रहँदादेखि नै विभिन्न गतिविधिहरूमा निरन्तर संलग्न रहँदै आएकोले यो पुरस्कार सम्मानप्रति विशेष मोह रहेको बताए । रेडियो नेपालको तीन दशकसम्मको पत्रकारिताको अनुभव र परिषद्सँगको साहित्यिक यात्रा अब देश र समाजका लागि नयाँ ढङ्गले उपयोग गर्ने विचार व्यक्त गर्दै वरिष्ठ पत्रकार लामिछानेले यो पुरस्कार सम्मानका लागि आभार व्यक्त गरे ।
बधाई मन्तव्य राख्दै परिषद्का सल्लाहकार डा.नारायण चालिसेले नेपालको सञ्चार क्षेत्रमा एउटा गर्व गर्न लायक निर्भीक पत्रकारको रूपमा स्थापित वरिष्ठ पत्रकार हरिशरण लामिछानेको साथमा यस परिषद्को कार्यसमितिमा रहेर सँगसँगै नेपाली भाषा साहित्यको समृद्धिमा गरिएका गतिविधिहरूको सक्रियतालाई नियाल्दा लामिछाने धेरै पुरस्कारहरू आर्जन गर्ने क्षमता राख्ने व्यक्ति भएको उल्लेख गरे ।
कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य गर्दै परिषद्का महासचिव वीरेन्द्र कुँवरले देशदेखि विदेशसम्मका नेपाली जनसमाजका माझ रेडियो पत्रकारको रूपमा परिचित बौद्धिक व्यक्तित्व वरिष्ठ पत्रकार हरिशरण लामिछानेको सम्बन्ध बेलायतमा रहेका नेपाली जनसमाजहरूसँग सञ्चार, कला र साहित्यको आबद्धताले अझ बढी घनिष्ठ परिचय गाँसिएको छ र नेपाली साहित्य विकास परिषद् यूकेबाट यो एनएलडिसी साहित्य-सञ्चार पुरस्कार सम्मानका लागि सही व्यक्तित्व छनोट भएको अनुभूति भएको बताए ।
समारोहमा धन्यवाद ज्ञापन मन्तव्य राख्दै परिषद्का कोषाध्यक्ष राजेशजङ्ग शाहले यूकेमा रहेको परिषद्को केन्द्रीय संस्थाद्वारा पुरस्कृत भएका हरिशरण लामिछानेको नेपाली भाषा साहित्य र सञ्चार क्षेत्रमा संप्रेषित ऊर्जा सबैका लागि अनुकरणीय रहेको र पुरस्कार योग्य भएको चर्चा गरे । कोषाध्यक्ष शाहले सम्मानित तथा सहभागी र सहयोगी सबैमा बधाई तथा धन्यवाद ज्ञापन गरे ।
सन् १९९५ मा स्थापना भएको बेलायतस्थित नेपाली जनसमाजको जेठो साहित्यक संस्था नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना भएका विभिन्न १५ वटा पुरस्कारहरूमध्ये वरिष्ठ साहित्यकार कोमलप्रसाद श्रेष्ठ मल्ल र कोहिनूर श्रेष्ठ मल्लद्वारा आ-आफ्ना स्वर्गीय बाबु आमाको स्मृतिमा सन् २०११ मा स्थापना भएको पाँच तोला शुद्ध चाँदी र स्वर्ण अक्षर अङ्कित एनएलडिसी नेपाली साहित्य-सञ्चार पदक पुरस्कार (नगद लिन चाहेमा नेरू पचास हजार रूपैयाँ) परिषद्द्वारा हरेक वर्ष नेपाली भाषा साहित्य कला र सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक सिर्जना, पत्रकार ,कलाकार र समाजसेवीहरूलाई प्रदान गरिन्छ । यसअघि यो पुरस्कारबाट बीबीसी नेपाली सेवाका पूर्वप्रमुख सञ्चालक तथा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ यूके शाखाका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार नवीन पोखरेल र भिजन संसार यूकेका सम्पादक अभिमन्यु वैरागलाई प्रदान गरिएको थियो ।






