काठमाडौं । प्रतिनिधिसभा सांसद एवं नेपाली कम्युनिस्ट पार्टीका नेता परशुराम तामाङले आदिवासी जनजातिको भाषा जोगाउने काम राज्यले गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा सांसद तामाङले तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्नेमा जोड दिएका हुन् । ‘यो समुदायको त हो नै राज्यको पनि मुद्दा र दायित्व हो । आदिवासीको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ,’ उनले भने।
ताम्सालिङको निर्माण गर्न सकेमा तामाङहरु एकजना नागरिक मात्र होइन, सिङ्गो राष्ट्रका रूपमा अगाडि बढ्न सक्छन् । यदि राष्ट्र बचाउने हो भने राजनीति चरणमा जानुपर्ने धारणा राख्दै उनले तामाङहरुमा सांस्कृतिक चेतना आइसकेको बताए । यसलाई राजनीति चेतनामा रुपान्तरण गरेर सबै एकताबध्द भएर साझा रूपमा अगाडि बढ्न उनले आग्रह गरे । यसका लागि सबै किसिमका प्रयास र सहयोग गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे ।
तामाङ भाषा, संस्कृतिलाई जगेर्ना गर्न सञ्चार माध्यम मार्फत सधैं कुनै व्यक्तिको पहलमा मात्र अभियानकै रूपमा लैजान कठिन भएको आ-आफ्नो अनुभूति बाँड्दै सम्मानित जगतमान तामाङ र जमुना तामाङले अब व्यवसायिक रूपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेता तामाङले विगतको सञ्चारमाध्यमको इतिहास र तामाङ भाषाको समाचारको सुरुवाती समयको सङ्घर्ष स्मरण गर्दै प्रसारण दिवसको अवसरमा आफू नै सबैभन्दा खुसी भएको व्यक्ति रहेको सुनाए । तामाङ भाषाको समाचार सरकारी तहको सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि गोरखापत्रसम्म आउनुपर्छ भन्नेमा आफ्नो हस्ताक्षर र पहल भएको उनले स्मरण गरे ।
यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीले मातृभाषी पत्रकारिताले भाषा जगेर्ना सँगै आदिवासीको कला, संस्कृति, संस्कार र पहिचान समेत जोगाउने बताए । उनले भने, ‘राज्यले लगानी गरेन भने मातृभाषी पत्रकारिता विलिन हुँदै जान्छ। मातृभाषी पत्रकारिता गरेर मात्र पत्रकारहरु टिक्ने र बिक्ने अवस्था छैन ।’ उनका अनुसार आदिवासी समुदायको सूचना राज्य समक्ष पुर्याउन मातृभाषी पत्रकारहरुको भुमिका अहम् छ । मातृभाषी पत्रकारितालाई अगाडि बढाउन राज्यको पहल हुनुपर्छ ।
सोमबार नै ‘तामाङ सञ्चारको यात्रा : छापादेखि एआइसम्म’ विषयक अन्तरक्रियासमेत गरिएको थियो । पूर्वमिस तामाङ सफलता थिङ तामाङले सहजीकरण गरेको अन्तरक्रियामा वक्ताका रूपमा भाषाविज्ञ अमृत योञ्जन, आइटी विज्ञ प्रा.डा. बालकृष्ण बल, सन्चारकर्मीहरु मिक्साङ वाइबा, वीरबल तामाङ थिए । वक्ताहरुले सञ्चार क्षेत्रमा छापा पत्रकारितादेखि एआइसम्म आइपुग्दा तामाङ भाषाको पत्रकारिताका विगत र वर्तमानसम्मका आयामहरुलाई खोतल्ने जमर्को गरे ।
संघका अध्यक्ष नेत्र तामाङले मातृभाषी पत्रकारिताको फराकिलो आयामको यात्रालाई डोर्याउने अग्रजदेखि अनुज पुस्ता सबैलाई आभार व्यक्त गर्दै यसको विकासको लागि सबैको पहल हुनुपर्ने बताए ।
कार्यक्रममा जगतमान तामाङ(काभ्रेपलाञ्चोक) र जमुना तामाङ(मकवानपुर) ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मानित भएका छन् ।सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधिसभा सांसद परशुराम तामाङ र संघका अध्यक्ष नेत्र तामाङले जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान प्रदान गरेका हुन् ।
विद्युतीय सञ्चार माध्यमबाट पहिलोचोटी वि.सं.२०५१ साल भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको थियो । यही ऐतिहासिक दिनको स्मरण गर्दै देशभरिका तामाङ समुदायको सञ्चार क्षेत्रले प्रत्येक वर्ष भदौ १ गते विभिन्न कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर तामाङ प्रसारण दिवस मनाउँदै आएको छ ।






