लन्डन । नेपाली लोक तथा दोहोरी संगीतप्रेमीहरूका लागि बेलायतको लन्डनमा ‘सांगीतिक साँझ २०२६’ आयोजना हुने भएको छ।
नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको प्रस्तुतिसहित यही २९ अगस्टमा सांगीतिक साँझ आयोजना गर्न लागिएको हो । प्लमस्टेडस्थित ना:खा: छ्येन यूकेमा हुने कार्यक्रममा चर्चित लोकगायक विष्णु खत्री र लोक तथा दोहोरी गायिका विमता घर्ती मगरले विशेष प्रस्तुति दिने आयोजक नेफिन यूकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए ।
कार्यक्रम साँझ ७ बजेदेखि राति ११:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नि:शु्ल्क प्रवेशको व्यवस्था रहेको छ ।
कार्यक्रममा नेपाली लोक तथा दोहोरी संगीतका चर्चित कलाकारहरूको प्रस्तुतिमार्फत बेलायतमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने तथा नेपाली मौलिक संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। आयोजक शेर्पाका अनुसार कार्यक्रममा नेपाली लोक तथा दोहोरी संगीतका लोकप्रिय गीत–संगीतसँगै कलाकारहरूको प्रत्यक्ष प्रस्तुति रहने भएकाले बेलायतवासी नेपालीका लागि सांगीतिक मनोरञ्जनको विशेष अवसर बन्ने अपेक्षा गरिएको छ ।






