नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक अवरुद्ध

SHARE:

काठमाडौँ । वर्षाका कारण नुवाकोटसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रहरी प्रधानकार्यालयले जारी गरेको शुक्रबार बिहान ०६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ १८ बजेदेखि बिहान ०४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका १८ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति १७ बजेदेखि बिहान ०५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ बजेदेखि बिहान ०५ बजेसम्म आवागमन बन्द गरिएको छ । उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जनाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो, सोही गाउँपालिका–२ लिपिङस्थित सडक भासिएपछि उक्त राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, गोसाइकुण्ड गाउँपालिका –२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी प्रधानकार्यालयले आग्रह गरेको छ ।

नुवाकोटका कहाँ के क्षति भए ?
बिहीबार ठूलो मेग गर्जन, चट्याङसहितको अविरल वर्षातको कारण नुवाकोटको पूर्वी भेगको खरानीटार-समुन्द्रटार सडक खण्डको दुप्चेश्वर मार्गमा पर्ने तादी गाउँपालिका वडा नं ४ स्थित ढाँडेमा ठुलो पहिरो आई पैदल तथा यातायातका सवारीसाधनहरु आवतजावत पूर्ण ठप्प बन्नुका साथै केही घरहरु जोखिममा रहेको र खेतीयोग्य जमिनहरुमा समेत क्षति पुगेको छ । – प्रदीप शर्माबाट
…..……

बिहीबार राति परेको अत्यधिक वर्षातको कारणले दुप्चेश्वर गाउँपालिकाका विभिन्न ठाउँहरुमा वाढी,पहिरो गई क्षति पुर्‍याएको जानकारीहरु आएका छन्,अवरुद्ध सडकखण्डहरु सुचारु गर्ने कार्य भइसकेको छ । अन्य स्थानमा त्यस्तो ठूलो क्षती पुगेको छ भने प्रहरी चौकीलाई जानकारी गराई मुचुल्का बनाई गाउँपालिकाको विपद् व्यवस्थापन समितिमा पेस गर्नुहुन समेत अनुरोध छ,
साथै यात्रा तथा आवत-जावतमा सतर्कता अपनाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।

…..……..
२०८३ साउन ५ गते बेलुकीको भिषण वर्षाको कारण पहिरो जाँदा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा ५ भद्रुटार नेवारपानी टोलबस्तीमा ८ घर जोखिममा परेको छ ।
…..……..
शिवपुरी गाउँपालिका वडा नम्बर ५, स्थित शेराबगरमा बिहीबार राति आएको बढीको कारण शिवपुरी गाउँपालिका कृषि उपज संकलन केन्द्र तथा छहरे- पाटीभन्ज्याङ लोकमार्गको पुलमा क्षति पुर्‍याएको खबर प्राप्त भएको छ । स्थानीयका अनुसार माथि खनियाखर्क र जेब्राङको बिचमा रहेको सामुदायिक वनको ठाउँठाउँमा ठूलो पहिरो गई आएको पहिरोका कारण तल रहेको कृषि भवन र पुल तथा हुलाक कार्यालय, कर्मचारी क्वाटर, लगाएतको स्थानमा क्षति पुगेको खवर प्राप्त भएको छ ।

खनियाखर्क,सागिने,कल्लेरी र जेब्राङमा गएको पहिरो र लेदोबाट पानीको बहावका कारण स्थानीयहरुको घर, पशु चौपायामा जोखिम बढेको र कृषियोग्य जमिनमा भने क्षति पुगेको खबर प्राप्त भएको छ।
…..……..

पञ्चकन्या गाउँपालिका–३ घलेगाउँस्थित झिगाने टोलमा रातिको समयमा अचानक आएको बाढीपहिरोका कारण स्थानीयवासीको धनजन तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। अचानक आएको बाढीपहिरोले स्थानीयवासीको घरगोठ तथा अन्य संरचनामा क्षति पुर्‍याउनुका साथै खेतीयोग्य जमिनमा समेत ठूलो क्षति भएको छ।

बाढीपहिरोका कारण घरगोठसँगै बाँधेर राखिएका दुई वटा भैंसीसमेत बगाएर लगेको दुःखद घटना भएको छ। रातिको समयमा अचानक विपद् आइपरेकाले स्थानीयवासीमा त्रास र कठिन अवस्था सिर्जना भएको थियो। यस्तो कठिन परिस्थितिमा गाउँका सम्पूर्ण समाज एकजुट भएर तत्काल उद्धार कार्यमा जुटेको र आपसी सहयोग तथा समन्वयमार्फत प्रभावित परिवार तथा पशुचौपायाको सकुशल उद्धार गर्न सफल भएको जानकारी गराउन चाहन्छौँ। विपद्को समयमा स्थानीयवासीले देखाएको एकता, साहस, सहयोग र मानवीय भावना प्रशंसनीय रहेको छ।

विशेषगरी बाढीपहिरोका कारण खेतीयोग्य जमिनमा पुगेको क्षतिले आगामी दिनमा स्थानीय किसानको जीविकोपार्जनमा समेत असर पर्न सक्ने भएकाले कृषि क्षेत्रमा भएको क्षतिको समेत स्थलगत निरीक्षण गरी आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्दछौँ।

विपद्को समयमा स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामाजिक संघसंस्था तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय हुनु अत्यन्त आवश्यक छ। त्यसैले प्रभावित क्षेत्रको तत्काल स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न, थप पहिरो तथा बाढीको जोखिम न्यूनीकरण गर्न र आवश्यक राहत सामग्री उपलब्ध गराउन सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।

हामी सबैको सानो सहयोगले विपद्बाट प्रभावित परिवारलाई ठूलो राहत मिल्न सक्छ। त्यसैले यस कठिन समयमा पीडित परिवारप्रति सहानुभूति राख्दै सक्दो सहयोग, साथ र हौसला प्रदान गरिदिन सम्पूर्ण स्थानीयवासी तथा सम्बन्धित निकायहरूमा हार्दिक अपिल गर्दछौँ। विपद्को समयमा हामी सबै एकजुट बनौँ, प्रभावित परिवारलाई सहयोग गरौँ र सुरक्षित समाज निर्माणमा हातेमालो गरौँ। -सुजन तामाङबाट

……………..

पञ्चकन्या गाउँपालिका–३ राम्चे स्थित रातिको समयमा अचानक आएको बाढीपहिरोका कारण स्थानीयवासी भाई सुदिप कुवँरकाे खेतीयोग्य जमिनमा ठूलो क्षति भएको छ।
बाढीपहिरोका कारण खेतीयोग्य जमिनमा पुगेको क्षतिकाे स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिनुहुन सम्बन्धित निकायलाई अनुरोध गर्दछु। – अमरसिंह थापा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!