अविरल वर्षापछि नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले व्यापक क्षति, कहाँ के भयो ? [तस्बिरसहित]

SHARE:

नुवाकोट । बिहीबार राति परेको अविरल वर्षाका कारण नुवाकोट जिल्लाको पूर्वी भेगका विभिन्न स्थानीय तहमा बाढीपहिरोले व्यापक क्षति पुर्‍याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न गाउँ तथा सडक प्रभावित भएका छन् ।

बाढीपहिरोका कारण कृषि योग्य जमिन, सडक, पुल, घर तथा पशुचौपायामा क्षति पुगेको छ भने विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुका साथै अवरुद्ध सडक खुलाउन जनप्रतिनिधिहरु र स्थानीयले संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

पञ्चकन्या गाउँपालिका–४ का मुख्य तथा ग्रामीण सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । पञ्चकन्या–२ भसभसेका सृष्टिलाल श्रेष्ठको गोठ भत्किँदा एउटा भैँसी घाइते भएको छ भने वडा नं. ३ का सोमबहादुर तामाङको गोठ पहिरोले बगाउँदा दुईवटा भैँसी घाइते भएका छन् ।

पञ्चकन्या–३ झिगानेका फूललामा ग्लानको गोठसमेत पहिरोले पूर्ण रूपमा बगाउँदा दुईवटा भैँसी घाइते भएका छन्। घरबारीमा समेत क्षति पुगेको जनाइएको छ। यस्तै, बोकेडाँडाका जितबहादुर ब्लोनका दाजुभाइको घरमा पहिरो खस्दा पूर्ण क्षति भएको र प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि घ्याङ्स्वारामा सार्ने पहल भइरहेको बताइएको छ।

शिवपुरी गाउँपालिका–५ स्थित कृषि उपज संकलन केन्द्र तथा छहरे–पाटीभञ्ज्याङ लोकमार्गको पुलमा क्षति पुगेपछि बुढीशेरा–पाटीभञ्ज्याङ सडक अवरुद्ध भएको छ।

तादी गाउँपालिका–४ ढाँडेमा ठूलो पहिरो गएपछि सातबिसे–समुन्द्रटार सडकखण्ड अवरुद्ध भएको छ। पहिरोका कारण केही घर जोखिममा परेका छन् भने खेतीयोग्य जमिनमा समेत क्षति पुगेको जनाइएको छ । त्यस्तै, लिखु गाउँपालिका–१ ढिकुरेस्थित पक्की पुलको छेउमा क्षति पुगेपछि सडक अवरुद्ध भएको छ ।

लगातार वर्षा भइरहेको र अझै विपद्को जोखिम कायम रहेकाले सम्बन्धित निकायबीच तत्काल समन्वय गरी उद्धार, राहत तथा सडक खुलाउने कार्यलाई तीव्रता दिन बागमती प्रदेशसभा सांसद राधिका तामाङले आग्रह गरेकी छन् । साथै, वर्षायाममा सम्भावित विपद्बाट जोगिन नुवाकोटवासी तथा सम्पूर्ण आमसमुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति २२ बजेदेखि बिहान ०५ बजेसम्म आवागमन बन्द गरिएको छ । उक्त सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारीसाधन चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय जुनवाकोटले जनाएको छ ।

नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा ५ भद्रुटार नेवारपानी टोलबस्तीमा ८ घर जोखिममा परेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!